पाकिस्तानद्वारा भारतसँगको विश्वकप खेल बहिष्कार गर्ने निर्णय फिर्ता
काठमाडौँ । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । अब पाकिस्तानले फेब्रुअरी १५ मा कोलम्बोमा हुने समूह चरणको खेलमा भारतविरुद्ध मैदान उत्रिने भएको छ । पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत ‘मैत्रीपूर्ण देशहरूको अनुरोध र पछिल्लो सहमतिलाई ध्यानमा राख्दै’ टोलीलाई भारतसँगको खेल खेल्न अनुमति दिएको जनाएको छ ।पाकिस्तान सरकारका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफलाई आईसीसी, बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र पीसीबीबीच भएको उच्चस्तरीय छलफलका निष्कर्षबारे जानकारी गराएका थिए । बीसीबीका औपचारिक अनुरोधसँगै श्रीलंका, संयुक्त अरब इमिरेट्सलगायत सदस्य राष्ट्रहरूले समाधानका लागि पाकिस्तानको नेतृत्व अपेक्षा गरेको पत्राचारसमेत सरकारले समीक्षा गरेको जनाएको छ ।
