विश्वकप क्रिकेट : आज तीन खेल हुँदै

२०८२ फाल्गुन १ गते, शुक्रबार


काठमाडौँ । आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकपअन्तर्गत आज तीनवटा खेल हुँदैछन्। आजको पहिलो खेलमा पूर्व विजेता अस्ट्रेलिया र जिम्बाब्वेबीच प्रतिस्पर्धा हुँदैछ, जहाँ अस्ट्रेलिया आफ्नो दबदबा कायम राख्ने दाउमा छ।
जारी प्रतियोगितामा समूह बी का दुवै टोलीले एक–एक जित निकालेका छन्। यी दुई टोलीबीचको खेल कोलम्बोमा बिहान सवा ११ बजे सुरु हुनेछ। आजै हुने अर्को खेलमा क्यानडा र यूएई आमनेसामने हुँदैछन्। पहिलो खेलमा पराजित भएका समूह डीका यी दुई टोली आज पहिलो जित निकाल्ने प्रयासमा हुनेछन्। यी दुई टोलीबीचको खेल दिल्लीमा दिउँसो सवा ३ बजे सुरु हुने तालिका छ। तेस्रो खेलमा नेदरल्याण्ड्सले बलियो चुनौती प्रस्तुत गरिरहेको अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीबीचको खेल चेन्नईमा साँझ सवा ७ बजे सुरु हुनेछ। सुपर एटको दौडमा रहेका यी सबै टोलीका लागि आजको नतिजा निर्णायक हुने देखिएको छ।
हिजो सम्पन्न खेलमा भारतले नामिबियालाई ९३ रनको विशाल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।
यता नेपाली क्रिकेट टोलीका लागि भने हिजोको दिन बिर्सनलायक रह्यो; जहाँ इटालीसँगको खेलमा नेपालले १० विकेटको अप्रत्याशित हार व्यहोर्नु पर्यो। यो पराजयले नेपालको अघिल्लो चरण प्रवेश गर्ने समीकरणलाई निकै कठिन बनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]