आईपीएल क्रिकेट: पहिलो चरणको खेल तालिका सार्वजनिक
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को पहिलो चरणको खेलतालिका सार्वजनिक भएको छ। उद्घाटन खेल यहि मार्च २८ तारिखमा बेंगलुरुको एम चिन्नास्वामी रंगशालामा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलाेर (आरसीबी) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच हुने भएकाे हाे। गत वर्ष आरसीबीको उपाधि जितेपछि उत्सवका क्रममा भएको भीड-भाडमा ११ जनाको मृत्यु भएपछि चिन्नास्वामी रंगशालामा आईपीएल खेलाउने विषयमा अन्योल थियो। कर्नाटक सरकारले हालै रंगशालालाई खेल आयोजना गर्न अनुमति दिएको छ। तर अन्तिम निर्णय भने विशेषज्ञ समितिको निरीक्षणपछि मात्रै हुने भएकाे हाे। उक्त समितिले मार्च १३ मा रंगशालाको निरीक्षण गर्दै खेलको दिनको व्यवस्थापनकाे बारेमा परीक्षण गर्ने भएकाे हाे।
दोस्रो खेल मुम्बई इन्डियन्स (एमआई) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच मुम्बईको वानखेडे रंगशालामा हुने भएकाे छ। उद्घाटनको सप्ताहन्तमा भने डबल–हेडर खेल राखिएको छैन। पश्चिम बंगाल, तमिलनाडु र आाम लगायत केही राज्यमा निर्वाचन हुने भएकाले आईपीएलले प्रतियोगिताको तालिका दुई चरणमा सार्वजनिक गर्ने निर्णय गरेको हो। प्रतियोगिताको पहिलाे चरणमा २० खेल खेलाइने भएकाे हाे । जसमा अप्रिल ४–५ र अप्रिल ११–१२ को सप्ताहन्तमा चार डबल–हेडर खेल पनि समावेश छन्। यस चरणमा सबै १० टोलीले चार–चार खेल खेल्ने छन्। यद्यपी टोलीहरूलाई कसरी समूहमा विभाजन गरिएको छ भन्ने स्पष्ट गरिएको छैन।
यस सिजन राजस्थान रोयल्सले गुवाहाटीमा तीन खेल खेल्नेछ भने बाँकी चार घरेलु खेल जयपुरको सवाई मानसिंह रंगशालामा हुने भएकाे छ। आरसीबीले दुई खेल रायपुरमा खेल्नेछ भने पञ्जाब किंग्सले तीन खेल धर्मशालामा खेल्ने तालिका रहेकाे हाे।आईपीएल २००८ देखि शुरु भएयता भारतमा आम निर्वाचन तथा राज्य निर्वाचन भएका वर्षहरूमा प्रतियोगिताको तालिका दुई चरणमा सार्वजनिक गर्ने प्रचलन रहँदै आएकाे छ।
