चण्डेश्वरी जात्राको रौनक सुरु
बनेपा, १० जेठ । बनेपामा नेवारी समुदायले मनाउने चण्डेश्वरी जात्राको रौनक सुरु भएको छ ।सो जात्राका लागि नेवारी समुदायले आफ्ना आफन्तलाई आमन्त्रण गर्नुका साथै आवश्यक तयारी सुरु गरेका छन् ।बनेपा नगरपालिकाले सो जात्राका लागि सरसफाइदेखि सरकारी निकायसम्म सहयोगीको भूमिका निर्वाह गरेको छ ।नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेलले जात्रालगायत चाडपर्वका लागि झन्डै १२ लाखको हाराहारीमा बजेट छुट्याइएको उल्लेख गर्दै टेलिफोन नकाट्न, विद्युत्भार कटौती नगर्न तथा सुरक्षा प्रदान गर्न सम्बन्धित निकायलाई पत्राचार भइसकेको बताए।
जेठ ११ र १२ गते दुई दिनसम्म मनाइने सो जात्राको अघिल्लो दिन उहिलेका राजा महाराजाले प्रयोगमा ल्याएका गरगहना र सिक्काको पूजाआजा गरिने छ ।संस्कृतविद् ज्ञानकाजी मान्नधरले दिएको जानकारीअनुसार चण्डेश्वरीदेवी बनेपालीको आराध्यदेवी भएको र चण्डेश्वरीदेवीले दैत्यराज चण्डाशुरको बध गरेको खुशियालीमा चण्डेश्वरी जात्रा हुने गरेको हो । वैशाख पूर्णिमा र त्यसको भोलिपल्ट यो जात्रा हुने गरेको छ ।वंशावलीअनुसार सत्यगयुगदेखि जात्रा हुने गरेको उल्लेख गर्दै उहाँले चण्डासुर दैत्यको बध भएपछि देवलोकमा देवी चण्डेश्वरीको बाजागाजासहित जात्रा गरिएकाले सो समयदेखि जात्राको परम्परा सुरु भएको जानकारी दिए ।संस्कृतविद् मानन्धरले नेपाल सम्वतको सुरुवातदेखि नै नेपालमा जात्राको सुरुवात भएको जानकारी दिँदै स्थानअनुसार फरकफरक रुपमा काभ्रेमा जात्रा गर्ने प्रचलन रहेको बताए ।उनका अनुसार उग्रचण्डीनालामा भगवती महालक्ष्मीको, सांगामा नासिका भगवतीको, चौकोटमा श्वेत गणेशको, श्रीखण्डपुरमा श्वेत भैरवको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ । साहित्यकार तथा काभ्रेका अग्रज पत्रकार मोहन दुवालले चण्डेश्वरी मन्दिर लिच्छविकालीन मन्दिर भएको उल्लेख गर्दै काठमाडौँको नरदेवी र बुढानीलकण्ठमा समेत चण्डेशवरीको जात्रा हुने जानकारी दिए ।नेवारी समुदायले जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ ।