मनाङमा होमस्टे शुरु

२०७० जेष्ठ ३१ गते, शुक्रबार

मनाङमा पहिलोपटक होमस्टे कार्यक्रम शुरु गरिएको छ । मनाङको धारापानी गाउँ विकास समितिको वडा नम्बर ६, ७ र ८ मा पर्ने ओडार गाउँमा होमस्टे सञ्चालन गरिएको हो ।
लमजुङ, कास्की, स्याङ्जामा प्रख्यात रहेको होमस्टे मनाङमा भने पहिलो पटक शुरु एको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा स्थानीय बासिन्दाले ओडार गाउँमा होमस्टे सञ्चालन गरेका हुन् ।
ओडारको होमस्टेबाट अन्नपूर्ण पदमार्गमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरि शुरु गरिएको होमस्टे सञ्चालनका लागि एक्यापले विभिन्न किसिमका तालिमसमेत दिएको थियो ।
होमस्टे सञ्चालनका लागि बेलमाया गुरुङको संयोजकत्वमा १३ सदस्यीय डाँफे होमस्टे पर्यटन उपसमिति समेत गठन गरिएको छ ।
समितिका पदाधिकारीलाई लमजुङमा पर्ने सार्क भिलेज घलेगाउँ र भुजुङ गाउँको होमस्टेमा भ्रमण गराइएको एक्याप मनाङका प्रमुख पारसविक्रम सिंहले वताए ।
अन्नपूर्ण पदमार्गको प्रस्थानविन्दु लमजुङ सदरमुकाम बेँसीशहरदेखि झन्डै ४२ किलोमिटर दुरीमा पर्ने ओडार गाउँ मनाङको उपल्लो धारापानीबाट झण्डै आधा घण्टामा पुग्न सकिन्छ ।
समुन्द्र सतहदेखि २२ सय मिटर उचाइमा रहेको ओडार गाउँमा संचालन गरिएको होमस्टेले स्थानीय बासिन्दाको आर्थिक स्थिति सुधार आउनुको साथै कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने डाँफे होमस्टेकी अध्यक्ष बेलकाशी गुरुङले बताए ।
३२ घर रहेको ओडार गाउँका १५ घरमा होमस्टे शुरु गरिएको छ । गाउँमा पुग्ने पर्यटकका लागि होमस्टे संचालन गरिएका घरमा सफा कोठा, चर्पी साथै सफा आँगनको व्यवस्था गरिएको छ ।
ओडार गाउँ पुग्ने पर्यटकलाई गाउँमै उत्पादित मकै, गहुँ, करु, फापरको ढिँडोको साथै लोकल कुखुरा, खसीको मासु, निउरो, कुरीलो, खोलेसाग, च्याउ, मकै, भटमास जस्ता परिकार खुवाउने गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार