रेडपाण्डाको प्रजननका लागि ३ महिना आवतजावतमा प्रतिबन्ध
इलाम ,१४ असार । इलाम र भारतको सीमा क्षेत्रमा रहेको सिंहलीला नेसनल पार्कले रेडपाण्डा (हाब्रे) को प्रजनन समय भएको भन्दै सीमावर्ती पर्यटकीय क्षेत्रमा पर्यटक आवतजावतका लागि प्रतिबन्ध लगाएको छ ।पर्यटकको हो-हल्लाले रेडपाण्डाको प्रजजन र यौन प्रक्रियामा असर पुग्ने भन्दै पार्कले जुन १५ देखि सेप्टेम्बर १५ तारिखसम्मका लागि आवतजावतमा प्रतिबन्ध लगाएको हो ।इलामको तुम्लिङदेखि पाँचथरको फालोटसम्मको नेसनल पार्क क्षेत्रभित्रको पदमार्गमा पर्यटक हिँड्डुलमा प्रतिबन्ध लगाएको सन्दकपुरस्थित शेर्पा च्यालेट होटलका पासाङतेम्वा शेर्पाले बताए ।कञ्चनजङ्घा बेसक्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभन्ज्याङदेखि पर्यटन पदमार्ग निर्माण गरेको छ । पर्यटन पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङमा भारतलगायत तेस्रो मुलुकका सयौँ पर्यटक आवतजावत गर्दै आएका थिए ।
नेसनल पार्कले तीन महिनासम्मका लागि पदमार्गमा प्रतिबन्ध लगाएपछि ट्रेकिङमा हिँडेका पर्यटक समस्यामा परेका छन् ।पार्कले सूचना टाँस गरी तुम्लिङ्ग-फालोट क्षेत्रको ४२ किलोमिटरमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत नगर्न अनुरोध गरेको छ ।नेसनल पार्कले प्रत्येक वर्षको तीन महिनासम्म पर्यटक आवगमनमा रोक लगाउँदा समस्या पर्दै आएको होटल व्यवसायीको गुनासो छ । पर्यटकीयस्थल मानेभन्ज्याङ्ग, चित्रे, मेघमा, तुम्लिङ्ग, जौवारी, गैरिवास, कैयौँकट्टा, कालपोखरी, बिर्खेभन्ज्याङ र सन्दकपुर क्षेत्रमा वर्षौंदेखि भारत भएर पर्यटक आउने गरेका छन् । रासस