लुम्बिनीमा सुरक्षा सतर्कता
भैरहवा,२५ असार । आईतबार बिहान भगवान गौतमबुद्धले ज्ञानप्राप्ती गरेको स्थान भारतको बोधगयामा श्रृंखलाबद्ध बम बिष्फोट पछी बुद्धजन्म स्थल लुम्बिनीमा सुरक्षा सतर्कता बढाईएको छ ।बोधगयाको बिष्फोटलाई मध्यनजर गर्दै यँहाको स्थानिय सुरक्षा समितीले थप रणनिती अख्तीयार गरेको छ । आईतबार रातीबाटनै दंगा प्रहरी गण बाट प्रहरी निरीक्षकको कमान्डमा थप ३० जना सुरक्षाकर्मि परीचालन भैसकेको रुपन्देही प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक हरी बहादुर पालले बतए । दंगा प्रहरीले ईलाका प्रहरी कार्यालय लुम्बिनी संग समन्वय गरी सुरक्षा ब्यबस्था मिलाउनेछन् । सुरक्षा ब्यबस्था लुम्बिनीको मुख्य केन्द्र स्थल मायादेबी मन्दीरलाई आधार मानि तयार गरीएको छ । त्यस्तै गरी मायादेबी मन्दीर प्रबेश गर्ने मुख्य उत्तरी ढोकामा वाक थ्रु मेशिन राखीएको छ । अब मायादेबी मन्दीर भित्र प्रबेश गर्ने जो सुकै पनि वाक थ्रु मेशिन भएर जानु पर्ने छ ।
त्यस्तै गरी लुम्बिनी भित्र रहेका स्वदेशी तथा बिदेशी बिहारलाई पनि सुरक्षाको घेरा भित्र राखीएको छ । ति बिहार भित्र प्रबेश गर्ने पर्यटकलाई मेटल डिटेक्टर मेशिनले परीक्षण गराईने प्रहरी प्रमुख पालले बताए । पालले रात्री गस्ती थप गरीने समेत उल्लेख गरे । लुम्बिनी स्थित मायादेबी मन्दीरको सुरक्षालाई लक्षित गर्दै यस अघिनै त्यहा क्लोज सर्किट सिसि क्यामरा जडान भैसकेको छ । बोधगयामा भएको बिष्फोट पछी कुनै संभाबित घटना नघटोस भन्दै सुरक्षा निकायले सतकर्ता बढाउदै लगेको हो ।
लुम्बिनी प्रबेश गर्ने चारै तर्फको ईन्ट्री प्वाईन्टमा लुम्बिनी बिकाश कोषका निजी सुरक्षाकर्मि र नेपाल प्रहरी खटाईएको छ । सिद्धार्थ गौतमले बोधत्व प्राप्त गरेर सारा बिश्वमा सत्य धर्म र शान्ति सन्देश फैलाएको ठाउमा भएको हमलालाई आतंककारीहरुको हमला भएको अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्रेयले बताए ।