लाङटाङमा ६ जातका चरा थपिए
काठमाडौं ,२७ मंसिर – हालै गरिएको एक अध्ययन अनुसार लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ प्रजातिका नयाँ चराहरु थपिएका छन् ।निकुञ्ज क्षेत्रमा ६ प्रजातिका चराहरू थपिएको निकुञ्जले जनाएको छ ।लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका विभिन्न स्थानमा अध्ययन गरिएको थियो । लाङटाङ राष्ट्रिय निकुञ्जमा सन् २००१ मा पहिलो पटक चराको अध्ययन गरिएको थियो ।
सन् २००१ मा गरिएको अध्ययन अनुसन्धानबाट लाङटाङ राष्ट्रिय निकुञ्जमा ३ सय ४५ प्रजातिका चराहरू भेटिएका थिए ।अहिलेको अध्ययन मा १२ वर्ष अघिको अध्ययनको तुलनामा ६ प्रजातिका चरा थपिएका निकुञ्जका सहायक संरक्षण अधिकृत तथा अध्ययन टोलीका प्रमुख रामदेव चौधरीले बताए ।नेपालमा ८ सय ७५ प्रजातिका चरा पाइन्छ ।हिल पिजन, फायर प्रन्टेड सेरिन, पाईन बन्टीङ, पेल ब्लु फ्लाईक्याचर, रस्टी फ्रन्टेड बार्विङ र हिल प्रिनिया जातका चरा थपिएका चौधरीले जानकारी दिए ।
यसैगरी , नेपालको पहाडी क्षेत्रमा पाईने फुस्रो टिकटिके चरा अहिले नेपालगञ्जमा देखिएको छ ।५ हजार फिटमाथि र १३ हजार फिटसम्मको उचाईमा पाईने यो चरा अहिले नेपालगञ्जमा फेला परेको चराविद डा हेमसागर बरालले बताए ।पहाडी क्षेत्रमा प्रजनन् क्रिया गर्ने चरा नेपालगञ्जमा फेला परेपछि यसको कारणबारे अध्ययन भइरहेको उनले जानकारी दिए ।फुस्रो टिकटिके चरा हिउँदको जाडो समयमा मात्र तराई झर्ने गर्छ ।