पुजारी बनिन बोटे महिला
त्रिवेणीधाम । नवलपरासीको त्रिवेणीनजिक रहेको वाल्मीकि आश्रमका दुई सीता मन्दिरमध्ये पुरानो मन्दिरकी पुजारी हुन् सुकियादेवी बोटे । रामायणका रचनाकार वाल्मीकि ऋषिले त्यहीँ तपस्या गरेको धार्मिक विश्वास छ ।रावणले हरेर लंका लगेको सीतालाई युद्ध जितेर रामले फर्काउँछन्, तर अर्कैसँग बसेकी श्रीमतीलाई स्वीकार गरेको भन्ने एकजना धोवीको टिप्पणी सुनेपछि रामले भाइ लक्ष्मणलाई सीतालाई लगेर जंगलमा छाड्न आदेश दिन्छन् । वाल्मीकि ऋषि जहाँ बसेका थिए । रामले त्यागेपछि सीता पनि त्यहीँ आइपुगेको धर्मग्रन्थहरुमा उल्लेख छ ।
सुकियादेवी बोटे ७८ वर्षकी भइन् । उनको लामो जीवन माछा मार्ने र डुंगा चलाउने श्रीमान् ठगई बोटेको सेवा गर्दै बित्यो । अब भने उनी बाल्मीकि आश्रममा आउने श्रद्धालुहरुलाई टीका लगाइदिन र प्रसाद बाँड्न व्यस्त छिन् । यो मन्दिरमा बस्न लागेको एक वर्ष भयो । चार वर्षअघि श्रीमान्को निधनपछि एक्लै भएकी सुकिया सीतामाताको शरणमा आएकी हुन् ।
माइती घर नवलपरासी डण्डादेखि दक्षिणमा रहेको नारायणी नदी किनारको गाउँ अमलटारी हो उनको । बोटेकी छोरी सुकियाको सुस्ता नजिकको भारतीय गाउँ ठाँडीमा बिहे भएको हो । घर माइती आउने जाने गर्दा मन्दिरका पुराना पुजारी जुद्ध गिरी र उनकी श्रीमती राजमतिसँग सुकियाको चिनाजान भएको हो । जुद्ध र राजमतिले आफूलाई छोरीजस्तै मानेको उनले बताइन् ।
पुराना पुजारीका एकमात्र सन्तान रामशरण गिरी हुन् । जुद्धको ५४ सालमा र राजमतिको गत वर्षको असोजमा निधन भयो । आमाको निधनपछि रामशरणले नै सुकियालाई पुजारी बस्न बोलाएका हुन् । ‘एक वर्षसम्म त मैले मन्दिरमा पूजा गर्न भएन । त्यसैले उहाँलाई बोलाएको हुँ । बुबा आमाले निकै माया गर्ने पूजाविधि र जपमन्त्र पनि उहाँलाई थाहा छ’ रामशरणले भने ।
रामनवमीमा वाल्मीकि आश्रममा भारत र नेपालबाट भक्तहरुको ओइरो लाग्छ । भौगोलिक सिमानामा चितवन जिल्लाको गर्दी गाविस वडा नं. ९ मा पर्ने भए पनि यो ठाउँ पुग्न नवलपरासीको त्रिवेणी र भारतीय भूमि हुँदै जानु पर्छ ।
जुद्ध गिरी पुजारी रहँदासम्म चितवन राष्ट्रिय निकुञ्जले नियमित तलब दिने गर्दथ्यो । चितवन निकुञ्जकै सक्रियतामा विसं. २०४३ सालमा मन्दिर पनि बनेको हो । जुद्धको निधनपछि नियमित तलब आउन छाडेको छ । भक्तहरुले दिने दान दक्षिणाबाटै पुजारीले गुजार गर्नुपर्छ ।