पर्यटकको सख्या ओरालो लाग्यो
काठमाडौ, श्रावण ६ – चिनियाँले केही व्यस्त बनाए पनि पर्यटन क्षेत्रमा भारतीय पाहुना घटेकाले नकारात्मक प्रभाव पर्ने देखिएको छ । होटल व्यवसायीका अनुसार २०१३ को पहिलो ६ महिनामा होटलको अकुपेन्सी (पाहुना संख्या) घटेको छ ।यति बेला भारतीय पर्यटक घुम्न आउने प्रमुख समय हो । तर भारतको उत्तराखण्डमा आएको बाढीका कारण कैलाश-मानसरोबर घुम्न आउने थप घट्ने लक्षण देखिएको छ । यसले होटलको अकुपेन्सीमा ठूलो असर पुग्ने होटल संघ नेपाल -हान) ले जनाएको छ ।यता होटलहरूले बितेको महिना अकुपेन्सी निराशाजनक रूपमा घटेको जनाएका छन् । ‘जुनमा ७५ प्रतिशत अकुपेन्सी रह्यो,’ होटल अन्नपूर्णका बजार प्रबन्धक राजविक्रम साहले भने, ‘अगस्टका लागि अहिलेसम्म ४० प्रतिशत बुकिङ भएको छ ।’
अकुपेन्सीका हिसाबमा जुलाई खासै राम्रो नरहेको उनले बताए । भारतबाट धार्मिक पर्यटनका लागि आउनेहरू झन्डै ५० प्रतिशतले घटेका छन् । होटल सांगि्रलाले आफ्नो अकुपेन्सी अघिल्लो वर्षभन्दा ५ प्रतिशतले घटेको जनाएको छ ।भारतीय पाहुना बढाउन आफ्नो होटलले दिल्लीमा प्रवर्द्धनात्मक गतिविधि गरेको सांगि्रलाका व्यवस्थापक राजु शाहले बताए । उनका अनुसार जुलाईमा मात्र ६५ प्रतिशत अकुपेन्सी रह्यो । ‘यो लक्ष्यभन्दा कम हो,’ उनले भने, ‘अकुपेन्सी कम भएकाले आम्दानीलाई सन्तुलित राख्न ट्यारिफ -भाडा दर) बढाएका हौं ।’
पर्यटन बोर्डका अनुसार जुनमा मात्र ४ दशमलव ६ प्रतिशतले पर्यटक घटेका थिए । त्यसमध्ये भारतीयहरू १५ दशमलव ३ प्रतिशतले घटेको तथ्यांक छ । उनीहरू जनवरीदेखि जुनसम्मको आगमनमा २० दशमलव ९ प्रतिशतले कम आएका छन् । होटल सोल्टी क्राउन प्लाजाले जुलाईमा ६८ प्रतिशत अकुपेन्सी रहने बताएको छ । घुम्न आउनेहरु कम भए पनि सभा, सम्मेलन र प्रदर्शनीका -माइस) कार्यक्रम नियमित भइरहेकाले होटललाई खासै फरक भने नपरेको जनाएको छ ।
होटल याक एन्ड यतीमा भने अकुपेन्सी सन्तोषजनक रहेको रेजिडेन्स म्यानेजर भरत जोशीले बताए । ‘हामीकहाँ माइसअन्तर्गतका कार्यक्रम बढी हुने गर्छ,’ उनले भने, ‘यसले होटललाई व्यस्त राखेको छ ।’ उनका अनुसार जुनमा ४४ प्रतिशत अकुपेन्सी रह्यो । ‘जुलाईको राम्रै बुकिङ छ,’ उनले भने । सन् २००९ को मध्यदेखि बढ्न थालेको पर्यटक आगमनले गत वर्षसम्म होटलले ‘अफ सिजन’ मा समेत ७० देखि ८० हाराहारीमा अकुपेन्सी पाउने गथ्र्यो । यहाँ आउनेमध्ये २८ देखि ३० प्रतिशत हिस्सा भारतीयको हुनेमा अहिले घटेको छ ।