रत्न मन्दिरमा पाँचतारे होटल बन्ने
काठमाण्डौं, ८ साउन। नेपाल ट्रस्टको कार्यालय मातहत रहेको पोखरास्थित रत्न मन्दिरमा पाँचतारे होटबल बनाउने प्रक्रिया अघि बढाइएको छ । सरकारीकरण गरिएको राजा वीरेन्द्र शाहको सम्पत्ति रत्न मन्दिर अहिले नेपाल ट्रस्टको कार्यालय मातहत रहेको छ ।मन्दिरमा निजी क्षेत्रको साझेदारीमा होटलसँगै, स्टेट गेस्ट हाउस र संग्रहालय खोल्न प्रारम्भिक अध्ययन पूरा गरिएको छ । लगानी बोर्डका सहसचिव मुकुन्दप्रसाद पौडेलका अनुसार प्रक्रिया अघि बढाउन ट्रस्टको कार्यालयसँग अनुमतिको प्रस्ताव गरिएको बताइएको छ ।‘अनौपचारिक रुपमा सैद्धान्तिक सहमति पाइसकेका छौं । हामीले प्रस्ताव गरेपछि ट्रस्टको बोर्ड बैठक बस्न नसकेकाले औपचारिक सहमति पाएका छैनौं,’ पौडेलले भने, ‘औपचारिक रुपमा सहमति आएलगत्तै काम अघि बढ्छ ।’उक्त जग्गाको क्षेत्रफल १ सय ११ रोपनी छ । योजनाअनुसार ट्रस्टको कार्यालयले सहमति दिएपछि वृहत अध्ययनका लागि दातृ निकायको सहयोगमा सरकारले काम गर्ने छ । त्यसपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई सरकारको अवधारणाअनुसारको पूर्वाधार विकास गरी सेवा दिन लगानी बोर्डले आह्वान गर्नेछ ।