विग्रिएको नगरा आजदेखि बजाईंदै
काठमाडौं, ९ भदौ – काठमाडौंको हनुमानढोका अगाडि रहेको दुईवटा ठूला नगरा अर्थात दमाहा आजदेखि बजाईंदैछ ।दैनिक पूजा वा विशेष अवसरमा घण्टासँगै बजाइने नगरा बिग्रिएका कारण एकवर्षदेखि बजाउन सकिएको थिएन । आजदेखि घण्टा र दमाहा बजाउने परम्पराले निरन्तरता पाउने हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।आजदेखि हरेक दिन विहान ९ बजेदेखि घण्ट र दमाहा सँगसँगै बजाइनेछ । दमाहा अर्थात नगरा मर्मतमा ढिलाई हुँदा यसअघि घण्टा मात्रै बजाइने गरिएको थियो । शनिबार क्षमापूजा गरेपछि आजदेखि नगरा बजाउने परम्पराले निरन्तरता पाएको हो ।सयौं वर्ष पुरानो बाजाले निरन्तरता पाएपछि बाजा बजाउने जिम्मा पाएका नगर्ची परिवार पनि खुशी भएका छन् । हनुमान ढोकामा रहेका दुईवटा नगरा देशकै ठूला बाजा मानिन्छ । यस्तैखाले बाजा पाटन र भक्तपुर दरबारमा पनि छन् । तर छुट्टै घरको व्यवस्था गरेर राखिएको छैन ।