रातो माछा लोप हुँदै
खोटाङ, ११ भदौ – खोटाङको बराहपोखरीमा पाइने रातो माछा लोप हुँदै गएको छ ।बराहपोखरी गाविसको पोखरीमा पाइने संसारकै दुर्लभ रातो माछा संरक्षणको अभावमा लोप हुँदै गएको हो । स्थानीय वासिन्दाले साँझको समयमा लुकीछिपी माछा मार्ने गरेको र पानी हाँसले पनि खाने गरेका कारण बराहपोखरीमा भएका रातो माछा हराउँदै गएको हो ।
दुर्लभ रातो माछा संरक्षणकालागि स्थानीय केटाकेटीहरुले गुलेली प्रयोग गरी हाँस धपाउने प्रयास गरेपनि पर्याप्त नभएको पञ्चकन्या यूवा क्लव बाराहापोखरी ८ का सचिव भरत मगरले बताउनुभयो । चारैतिर पहाड र बीचको उपत्यकामा रहेको पोखरीमा टाढाबाटै राताम्य माछा खेलीरहेको देख्न सकिन्छ ।
३३० मिटर लम्वाई र २१० मिटर चौडाई रहेको बराहपोखरी किनारमा हरिबोधनी एकादशी, बालाचतुर्दशी, माघे संक्रान्ती, शिबरात्री र रामनवमीमा मेला लाग्ने गरेको छ । जिल्लाकै प्रमुख पर्यटकीय स्थलकारुपमा बिकास गर्न सकिने बराहपोखरी विकास, संरक्षण र संबर्धनको अभावमा ओझेलमा परेको छ ।