अन्नपूर्ण संरक्षण क्षेत्रभित्र नयाँ पदमार्ग
काठमाडौँ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र नयाँ पदमार्ग प्रयोगमा ल्याइएको छ ।लमजुङ सदरमुकाम वेसीशहरबाट मनाङ सदरमुकाम चामे जोड्ने गरी मोटरबाटो निर्माण भएपछि पर्यटकहरुलाई पदयात्राका लागि नयाँ मार्ग विकास गरिएको हो । लमजुङ सदरमुकाम बेशीशहर, घलेगाउँ, घनपोखरा, दूधपोखरी, नामुनपास, तिमाङ र चामेसम्मको पदमार्ग विकास गर्ने काम गरिएको छ ।त्यस्तै बेशीशहर, घलेगाउँ, घनपोखरा हुँदै भुजुङ, पसगाउँ पुग्ने पदमार्ग भुजुङदेखि कास्कीको ताङतिङ भएर पोखरा जाने पदमार्ग र भुजुङ–दूधपोखरी–ठूललेक हुँदै कास्कीको सिक्लेस भएर पोखरा जाने नयाँ पर्या–पर्यटकीय मार्गहरु पहिचान भइसकेका छन् । यस्तै, बेशीशहर–घलेगाउँ–भुजुङ–पसगाउँ–थुम्सीकोट हुँदै पोखराको बेगनास तालसम्मको गुरुङ सम्पदा अर्थात ग्रामीण पर्यटकीय पदमार्ग पनि सञ्चालनमा आएको छ । यो मार्ग पार गर्न १० दिन लाग्नेछ ।
यसैगरी बेशीसहरबाट भूलभूले, ङादी, बाहुनडाँडा, घेर्मु, ताघ्रिङ, सिउरुङ, घोप्टे, घनपोखरा बाग्लुङपानी, घलेगाउँ, भुजुङ हुँदै पसगाउँसम्मको मार्गको पनि सम्भावना रहेको एक्यापले जनाएको छ । पहिचान भएका पदमार्गमा पर्यटकीय सम्भावना निकै भएपनि ब्यवस्थापकीय कमजोरीका कारण सोँचे अुनुसार पर्यटक जान सकेका छैनन् ।
खानेपानी, बस्ने ठाउँ र बाटोको अभावका कारण बाह्य पर्यटकहरु जान नमानेका पथ प्रदर्शकहरुले वताएका छन् । ५ हजार ३ सय मिटरको उचाइमा रहेको लमजुङ, मनाङ र कास्की जिल्लाको सिमानामारहेको दूधपोखरीलाई पर्यटकीय विकास गर्ने उद्देश्यले एक्यापले भुजुङबाट दुधपोखरीसम्मको क्षेत्रलाई उच्च हिमालय पर्या–पर्यटकीय मार्गको रुपमा विकास गर्न लागेको छ ।
यो मार्गमा पैदलयात्रा गर्न ८ दिन लाग्नेछ । यस्तै घनपोखरादेखि विभिन्न लेकहरु हुँदै गुरुङ जातिको आदिमथलो क्होला सोँथर जाने पैदलयात्रा मार्गको समेत पहिचान गरी एक्याप र घनपोखराका वासिन्दाले बाटो निर्माण कार्य अघि बढाएका छन् ।