बूढीकोट पर्यटकीय साहित्यिक यात्रा सम्पन्न
गोरखा, ३० भदौ । लिगलिग साहित्य समाज, गोरखाले ‘बूढीकोट पर्यटकीय साहित्यिक यात्रा–२०७०’ आयोजना गरेर बूढीकोट क्षत्रेको पर्यटकीय सम्भावनालाई उजागर गर्ने प्रयास गरेको छ ।गोरखाको देउराली गाविसस्थित बूढीकोटको ऐतिहासिक र साँस्कृतिक महत्वलाई प्रसार गर्नका लागि आयोजित यात्रामा देशका विभिन्न स्थानबाट लेखक, साहित्यकार तथा पत्रकारहरु सहभागी भएका थिए । स्थानीयहरुको उत्साहजनक उपस्थितिका साथ आयोजित साँस्कृतिक कार्यक्रममा नाचगान तथा लेखक, कविहरुको साहित्य वाचनले यात्राले एक महोत्सवकै रुप लिएको थियो ।तलतिर मस्र्याङ्दी उपत्यका, पारीपटट्टी प्रख्यात मनकामना मन्दिरको डाँडो र चम्किला हिमालका लहरले घेरिएको बूढीकोटको ऐतिहासिक महत्व दर्साउनका लागि आयोजित यस यात्रामा गोरखा जिल्लाका अन्य गाविस तथा छिमेकी तनहुँ, कास्कीबाट समेत सर्वसाधारण तथा लेखक, पत्रकारहरु सहभागी भएका थिए । काठमाडौंबाट गएका र अन्य जिल्लाबाट आएका लेखक, पत्रकारहरुको टोलीले मस्र्याङ्दी र दरौँदीको दोभान तथा गोरखकाली टायर उद्योगको अवलोकन भ्रमण गर्दै आँबुखैरेनीबाट पैदल यात्रा थालेका थिए ।
बूढीकोट देवी देशकै प्रख्यात मन्दिर मनाकामना देवीको दिदी रहेको समेत कार्यक्रममा स्थानीय खोजकर्ता तथा देउराली गाविसका पूर्व अध्यक्ष ऋषि खनालले बताए । बूढीकोटको प्रचार–प्रसारमा सघाउन आग्रह गर्दै उनले भने, ‘यो निकै सम्भावना बोकेको ठाउँ हो । ऐतिहासिक बाइसे चौबिसे राज्यको समयमा मगर राज्यको केन्द्र यही हो । पछि यस ठाउँलाई पनि पृथ्वीनारायणले युद्ध लडी एकीकरण गरेका हुन् । यहाँ अहिले पनि त्यस समय झल्काउने थुप्रै जनशुक्तिहरु छन् ।’
आँबुखैरेनीबाट करिब तीन घण्टामा हिँडेर पुगिने देउरालीको हटियाबाट डेढ घण्टा उकालो चढेर पुगिने बूढीकोटमा यस यात्राका क्रममा मानिसहरुको पहिलोपटक भव्य लर्को लागेको हो । कतिपय स्थानीय नै नपुगेको बूढीकोटमा ‘बूढीकोट पर्यटकीय साहित्यिक यात्रा’ले त्यहाँसम्म पुग्ने वातावरण बनाउन पहल गरेको हो । पर्यटकीय हिसावले सम्भावना रहेपनि भौतिक पूर्वाधारहरुको अभाव रहेको भन्दै स्थानीयले सो विषयमा पत्रकाहरुसँग गुनासो गरेका थिए । उनीहरुले बुढीकोटलाई देशैभर फैलाउनका लागि सघाउन आग्रह गरे ।
पर्यटकीय साहित्यिक यात्रामा क्रममा बूढीकोट मन्दिरमै साहित्यिक कार्यक्रम समेत आयोजना गरिएको थियो । स्थानीय लेखकका साथमा काठमाडौं, तनहुँ, कास्कीबाट पुगेका साहित्यकारहरुले आफ्ना रचना सुनाउँदै बूढीकोटको महत्वबारे पनि बोलेका थिए ।