पोखरा–लुम्बिनी रुटमा सिधा पर्यटक बस सञ्चालन
काठमाडौं, ३ असोज- पोखरा–लामो समयदेखि पोखरा–लुम्बिनी रुटमा पर्यटक बस सञ्चालन प्रयास गरिरहेका पर्यटन व्यवसायीले लुम्बिनी रुटमा सिधा पर्यटक बस सञ्चालनको तयारी गरेका छन् । पोखराको माउन्टेन ओभरल्यान्ड टुर्स एन्ड ट्राभल्सले विश्व पर्यटन दिवसको अवसर पारेर सेप्टेम्बर २७ देखि यो रुटमा सुविधासम्पन्न बस चलाउन लागेको हो।यो सेवा सञ्चालनसँगै आन्तरिक तथा बाह्य पर्यटक आउजाउ सहज हुने बताएका छन्। यसअघिका प्रयास सिन्डिकेट लादेका अन्य व्यवसायीको कारण असफल भए पनि यो पटक जुनसुकै हालतमा सञ्चालन गरिछाड्ने व्यवसायीको अठोट छ। आन्तरिक तथा बाह्य पर्यटक लक्षित सुविधासम्पन्न बस सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ।
ट्राभल्सका एक सञ्चालक गणेशबहादुर भट्टराईका अनुसार हरेक दिन बिहान पोखराको राष्ट्र बैंक चोकस्थित पर्यटक बसपार्कबाट लुम्बिनीका लागि र लुम्बिनीबाट पोखराका लागि बस छुट्नेछ। ‘पोखरा–लुम्बिनी–पोखरा रुटमा दैनिक दुईवटा बस चलाउने निर्णय गरेका छौं,’ मंगलबार आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘यो सुविधाले पोखरा–लुम्बिनी–पोखरा घुम्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुनेछ।’
उक्त रुटमा सुविधासम्पन्न पर्यटक बस नहुँदा अहिले एक ठाउँमा आएका पर्यटकले अर्काे सहर जाँदा सास्ती खेप्नुपरेको छ। दैनिक रुपमा सञ्चालन हुने बस पोखराबाट चितवन हँुँदै लुम्बिनी पुग्नेछ। पोखरा, काठमाडौं र लुम्बिनी तीनै क्षेत्रमा पर्यटक बसबाट पर्यटक घुमाउने हो भने उनीहरुको नेपाल बसाई अवधिसमेत लम्ब्याउन सकिने व्यवसायीको भनाई छ।
‘ट्र्यांगलको रुपमा यी तीनै सहर जोड्न खोजेका हौं। अहिलेसम्म लुम्बिनी आएका कतिपय पर्यटकले पोखरा र काठमाडौंबारे नसुनेका हुन सक्छन्। सेवा विस्तारसँगै यसले लुम्बिनी मात्र नभई पोखरा र काठमाडौंको प्रवर्द्धनमा समेत सघाउँछ,’ उनले भने, ‘पोखरा, काठमाडौं र लुम्बिनीसँगै चितवनका पर्यटन व्यवसायीले पनि यसबाट फाइदा लिन सक्नेछन्।’ भट्टराईका अनुसार पोखरा–लुम्बिनी रुटमा यात्रा गर्ने आन्तरिक पर्यटकले प्रतिव्यक्ति ११ सय र विदेशीले १८ अमेरिकी डलर भाडा तिर्नुपर्नेछ। यसमा खानाशुल्क समेत संलग्न गरिएको छ।
सिधा पर्यटक बस नहुँदा अहिले पोखरा आएकालाई लुम्बिनी र लुम्बिनी पुगेकालाई पोखरा ल्याउन निकै नै समस्या रहेको व्यवसायीको भनाइ छ। ‘सुविधासम्पन्न सवारी नपाएको भन्ने धेरै पर्यटकको गुनासो हुन्छ। त्यसैले पनि यो रुटमा सिधा र सुविधासम्पन्न पर्यटक बस अपरिहार्य भएको हो,’ सञ्चालक भट्टराईले भने। पहिलो चरणमा एउटा बसबाट सेवा थाल्ने र केही समयपछि अरु व्यवसायीले पनि बस थप्ने उनले बताए।
पोखरा–भैरहवा सिधा हवाई सेवा नभएको बेला आरामदायी बससेवा सुरु गर्दा पर्यटकलाई राहत मिल्ने व्यवसायीको भनाइ छ। नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष केदार शर्माले नयाँ सेवा विस्तारले पर्यटकलाई राहत मिल्ने बताए। ‘पोखरा आउन खोज्ने भारतीय पर्यटकलाई यस सेवाले मुख्य रुपमा राहत दिनेछ। मुक्तिनाथ दर्शन गर्न आउने धेरैजसो भारतीय पर्यटक अहिले आफ्नै सवारीमा आउन बाध्य छन्। तर, यो सेवाले भारतीय सवारी ल्याउनुपर्ने अवस्था आउँदैन,’ उनले भने, ‘सबैले सघाउने हो भने यसले पोखराको पर्यटन प्रवर्द्धनमा ठूलो राहत दिन्छ।’
सुविधासपम्पन्न बस सञ्चालन हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकले साना सवारी रिजर्भ गरेर आउजाउ गर्नुपर्ने अवस्था थियो। गुणात्मक पर्यटक प्रवर्द्धन गर्न यस्ता सेवाले सघाउने पर्यटन व्यवसायीले बताए। माउन्टेन ओभरल्यान्डले पोखराबाट काठमाडौंसहित चितवनमा गत वैशाखदेखि सुविधासम्पन्न पर्यटक बस सञ्चालन गरिरहेको छ। कम्पनीको यो तेस्रो गन्तव्य हो। कम्पनीले ६ वटा नयाँ बसबाट यी रुटमा सेवा दिइरहेको छ।