हिमाल चढ्ने क्रममा तीनको मृत्यु
सोलुखुम्बु, १४ असोज ।मनाङ जिल्लाको हिम्लुङ एक्सपिडिसनका क्रममा गुदेल–४ सोलुखुम्बु निवासी तेन्डी शेर्पा र पावै जुके निवासी पासाङ शेर्पाको हिउँपहिरोमा परी ज्यान गएको छ ।हिम्लुङ हिमाल आरोहणका क्रममा शेर्पाद्वयका साथमा खिजिफलाटे ओखलढुङ्गा निवासी काजी शेर्पाको समेत मृत्यु भएको गुदेल शेर्पा किदुकका सचिव दातेन्जी शेर्पाले जानकारी दिए । आइतबार बिहान हिउँपहिरोमा परी उनीहरूको मृत्यु भएको हो । मृतकमध्ये तेन्डी र पासाङको शव फेला परेको छ भने काजी शेर्पाको शव फेला परेको छैन ।मृतकहरूको शव लिनका लागि आइतबार नै हिम्लुङ हिमालको आधार शिविर पुगेको माउन्टेन हेलिकोप्टर मौसम खराबीका कारण अझै फर्कन सकेको छैन । मृतकहरूको शव हिम्लुङ हिमालको क्याम्प १ मा रहेको समेत सचिव दातेन्जी शेर्पाले जानकारी दिए ।