लुम्बिनीमा महासिद्ध स्तुपा बनाइने
काठमाडौं, १० मंसिर ।बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वकै उत्कृष्ट महासिद्ध विश्व शान्ति स्तुपा निमार्ण गरिने भएको छ। वङ्छेङ गोगंझु अन्तराष्ट्रिय प्रतिष्ठान र भृकृटी हिमालयन प्रतिष्ठानद्वारा निमार्ण गरिने महासिद्ध विश्व शान्ति स्तुपाको आइतबार एक कार्यक्रमबीच सिलन्यास गरिएको छ।
नेपालका लागि भारतीय राजदूत रञ्जित रेले एक कार्यक्रमबीच स्तुपाको सिलन्यास गरे। सिलन्यास कार्यक्रममा बोल्दै राजदुत रे ले लुम्बिनीमा निमार्ण गर्न लागिएको महासिद्ध विश्व शान्ति स्तुपा विश्वकै उत्कृष्ट र शान्तिप्रेमीहरुका लागि आकर्षणको केन्द्र बन्न सकोस भन्ने सुभकामना दिए।कार्यक्रमलाइ सम्बोधन गर्दै उनले बुद्ध जन्मस्थल लुम्बिनी र नेपालको विकासमा भारत सरकारको सदैव सहयोग र सद्भाव रहने बताए। बुद्धले नेपाल र भारतलाई धर्म तथा दर्शनको माध्यमबाट अन्तरमनको गहिराइबाट कहिल्यै नटुट्ने गरी जोडेको उल्लेख गर्दै राजदुत रेले आर्थिक सम्बृद्धिका लागि विकासका काममा पनि सहयोग र साझेदारीको खाँचो रहेको उल्लेख गरे ।कार्यक्रममा उनले भगवान गौतम बुद्ध जन्मेको, खेलेको र बुद्धका पदचाप भएको स्थान लुम्बिनीमा आएर बोल्न पाउँदा आफूलाई भाग्यशाली ठानेको बताएका थिए। एशियाका ज्योती भगवान गौतम बुद्धकै कारण बन्धुत्वको साइनो अन्तरमन देखिनै दुई देशबीच जोडिएको उल्लेख गर्दै उनले त्यसलाई कायम राख्दै बाहिरी रुपमा पनि दुइ देशलाइ जोड्न र विकासको गतीमा अगाडी बढ्न बुद्ध सर्किट निमार्णको खाँचो औल्याए । बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धले बुद्धत्व प्राप्त गरेको भारतको बोधगया तथा बुद्ध सगं सम्बन्धित क्षेत्रहरुलाइ समेटेर बुद्ध सर्किट निमार्ण गरी पर्यटन विकासमा दुइ देस सगसगैं अगाडी बढ्न सक्ने रेको भनाइ थियो । राजदुत रेले संविधान सभाको निर्वाचन सफलता पुर्वक सम्पन्न भएकाले नेपाली जनता बधाइको पात्र भएको समेत उल्लेख गरे । कार्यक्रममा रुपन्देही क्षेत्र न २ बाट नवनिर्वाचीत संविधान सभा सदस्य दिपक बोहोराले समग्र लुम्बिनीको विकासका लागि महत्वपुर्ण भुमीका निर्वाह गर्ने प्रतिबद्धता जनाए । स्तुपा निमार्णको नेतृत्व गरेका बौद्ध धर्मगुरु स्याल्पा तेन्जिङ रिम्पोछेले लुम्बिनी स्थित कोरियन टेम्पलको छेउमा निमार्ण गर्न लागिएको सो स्तुपालाइ विश्वकै उत्कृष्ट, सुन्दर शान्तिकेन्द्र बनाइने बताए।
स्तुपाको चर्चित जमर्न आर्किटेक्ट तथा जर्मनको संसद भवनका डिजाइनर प्रोफेसर स्टेफेन ब्राउनफल्सले डिजाइनिङ्ग गरेको धर्मगुरु स्याल्पा रिम्पोछेले जानकारी दिए। विश्वका हरेक धर्म र संस्कृति मान्ने शान्ति प्रेमीहरुका लागि उत्कृष्ट गन्तब्य बनाउने लक्ष्य अनुसार सो स्तुपाको डिजाइनिङ्ग गरिएको बताइएको छ । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष आर्चाय कर्मा स्याङवो शेर्पा,बरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ, जमर्न आकिटेक्ट प्रोफेसर स्टेफेन लगायतले बोलेका थिए।