सिन्धुपाल्चोकमा रेडपाण्डा भेटियो
चौतारा, १४ मंसिर। सिन्धुपाल्चोक जिल्लाको सरदमुकाम नजिकै रहेको स्याउले गाविस– ४ मा दुर्लभ वन्यजन्तु रेडपाण्डा देखा परेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर भनेर चिनिने तेम्बाथाङ पोष्टको नजिकैको जंगलमा पहिलोपटक एक जोडी रेड पाण्डा देखिएको लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाका स्थानीय स्रोत व्यक्ति दोर्जे वाङछ्युग ह्योल्मोले बताए ।गाविसको फुस्रे गाउँको देवीस्थान जंगलमा सेलाङ गाविस वडा नम्बर ३ मैदान गाउँका मिङ्मार शेर्पाले खस्रो रुखको हाँगामा गुट्मुटिएर घाम ताप्दै गरेको अवस्थामा रेड पाण्डा देखेको बताए ।
त्यसलगत्तै आफूले निकुञ्जका कर्मचारीलाई खबर गरेको बताउनुभयो । निकुञ्जका कर्माचारीले रेड पाण्डा भएको पुष्टी गरेपनि स्थानीयबासिन्दा निकै खुशी भएको पाँचपोखरी चोरी सिकार नियन्त्रण समूहका उपाध्यक्ष अनिल शेर्पाले बताए ।रेडपाण्डा देखिएको क्षेत्र सिन्धुपाल्चोकको पाँचपोखरी धार्मिक पर्यटकीय गन्तव्यको रुटमा पर्दछ । सुन्दर, लजालु र दुर्लब जनावर पाईएपछि यस रुटमा पर्यटकको संख्या बढ्ने निकुञ्जका सिनियर गेम स्काउट ज्ञान बहादुर श्रेष्ठको भनाई छ ।
जिल्ला सदरमुकामबाट १ घण्टाको दुरीमा रहेको यो ठाउँसम्म पुग्न मोटर बसाटोको सुविधा रहेको छ भने गत वर्षमात्र निकुञ्जसँग सहकार्य गरी डब्लुडब्लुएफको आर्थिक सहयोगमा २ वटा होम स्टेसमेत स्थापना गरिएको छ ।