विवाह पञ्चमी सुरु
जनकपुरधाम,१७ मसिंर – जनकपुरमा भव्य रुपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सव आजवाट सुरु भएको छ ।मंसिर २३ गतेसम्म मनाइने महोत्सवका लागि जानकी मन्दिर सजाएर आकर्षक बनाइएको छ । महोत्सव अन्तर्गत भगवान रामसीताको वैवाहिक कार्यक्रम मंसिर २२ गते हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।यस बर्ष भारतको अयोध्याबाट करिब तीन सय जना साधुसन्त र महन्थहरु जनकपुर जन्ती आउने कार्यक्रम रहेको उनले बताए । भगवान राम अर्थात दुलाहा पक्षको नेतृत्व राममन्दिरले गर्ने र जानकी अर्थात दुलही पक्षको नेतृत्व जानकी मन्दिरले गर्ने परम्परा छ । रामसीताको स्वयंम्बर कार्यक्रम रंगभूमि मैदानमा हुन्छ ।जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवका अनुसार जनकपुरको सबैभन्दा ठूलो उत्सवको रुपमा विवाहपञ्चमीलाई नै लिने गरिएको छ । सात दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइने विवाहपञ्चमीमा जनकपुर नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवा जस्ता कार्यक्रम हुने गरेको छ । प्रत्येक कार्यक्रमका लागि बेग्लाबेग्लै रुपमा विशेष तैयारी भइरहेको उनले बताए ।महोत्सवका लागि जनकपुर नगरपालिकाले जनकपुरको सरसफाईलाई पनि तिव्रता दिएको छ । बिवाह पञ्चमी महोत्सवमा सहभागी हुन जनकपुरमा आउने भक्तजनहरुको स्वागतको लागि व्यवस्थापन गरिरहेको कार्यकारी निर्देशक उमेश यादवले बताए । यादवका अनुसार श्रद्धालुभक्तजनहरुको घुईंचो र राम सीताको स्वयम्वर बाह्रविघा मैदानमा हुने गरेकोले त्यहाँ सरसफाई गरिएको छ । भक्तजनहरुको लागि बाह्रविघामा ७० वटा अस्थाई सौचालय बनाइएको छ । जनकपुरका विभिन्न संघ संस्था र समाजसेवीहरुले जनकपुरका विभिन्न स्थानहरुमा तिर्थयात्रीहरुको लागि आवास, निःशुल्क भोजन, स्वास्थ्य शिविर जस्ता परोपकारी कामको पनि व्यवस्था गरेका छन् ।
त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र आदर्श नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा ऐतिहासिक विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ । विवाहपञ्चमी मेलालाई लिएर स्थानीय प्रशासनले जनकपुरको सुरक्षा व्यवस्थालाई पनि कडा बनाएको छ । मेलामा भीडभाडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । व्यवस्थित रुपमा सवारी साधन पार्किङको लागि समेत जनकपुरका चोक र मुख्य स्थानहरुमा ट्राफिक प्रहरी राखिने भएको छ । मेला हेर्न बाहिरबाट आउने दर्शकहरुका गाडी पार्किङका लागि रिंगरोड भन्दा बाहिर नै गाडी पार्किङ पर्ने व्यबस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । प्रत्येक वर्षको विवाहपञ्चमी मेलामा जनकपुरमा अत्यधिक भीड लाग्ने गरेको छ ।