सुदुरपश्चिम महोत्सव २२ गतेबाट
कैलाली, २० मंसिर । कैलाली उद्योग वाणिज्य संघले आउँदो २२ गतेबाट गर्न लागेको सुदुरपश्चिम महोत्सव तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । महोत्सवको तयारीको काम ९० प्रतिशत पूरा भएको संघले बताएको हो ।यस महोत्सवको मुख्य आकर्षण उदघाटनमै छ । उद्घाटनका समयमा प्रमुख अतिथिलाई निकै तौलको माला लगाइदिने यस महोत्सवको चलन छ । उदघाटनमा प्रमुख अतिथिका रुपमा आमन्त्रित गर्ने अतिथिलाई राज्यसँग राखिएका मागका बुँदालाई आधार मानी, त्यति नै किलो तौलको माला पहिर्याई स्वागत गर्ने गरिन्छ ।स्थानीय लोकसंस्कृति झल्किने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने महोत्सव पुस २ गतेसम्म जारी रहने संघका कैलाली महासचिव राजेश भण्डारीले जानकारी दिए । उनका अनुसार ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ कैलाली उद्योग वाणिज्य संघद्वारा हरेक वर्ष गर्दै आएको महोत्सवमा यसपटक तीन सय व्यापरिक स्टल रहने छ ।
विसं. २०६३ देखि बर्सेनि गरिँदै आएको यो महोत्सवमा आयोजकले राज्यसँग २१ बुँदे माग राखेकामा अहिलेसम्म अप्टिकल फाइबर बिछ्याउने, सुदूपश्चिम विश्वविद्यालय स्थापना, धनगढी विमानस्थललाई कालोपत्रे गर्ने लगायतका चार माग पूरा भए पनि अन्य माग पूरा हुन सकेका छैनन् । यस वर्षदेखि सुदूरपश्चिममा औद्योगिक करिडोर स्थापनाको पहल हुनुपर्ने मागसमेत थपिएको छ ।