पर्यटकीय गाउँलाइ प्लास्टिक मुक्त बनाइदै
काठमाडौं, ३ पुस । म्याग्दीका पर्यटकीय गाउँलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियान सुरु भएको छ ।दीर्घकालसम्म मानव स्वास्थ्य र वातावरणलाई प्रभाव पार्ने भएकाले स्थानीय पर्यटन व्यवसायीको अग्रसरतामा नागी, टिकोट, खिवाङ, शिख, घार, पाउद्धार र नारच्याङ गाउँ प्लास्टिकमुक्त क्षेत्र बनाइएका हुन् ।
साथै अन्नपूर्ण–धौलागिरि सामुदायिक इको पदमार्गअन्तर्गत पर्ने पर्वतको बाँसखर्क र डाँडाकटेरी गाउँलाई पनि प्लास्टिकमुक्त क्षेत्र बनाइएको पदमार्ग व्यवस्थापन समितिका संयोजक चित्र तिलिजाले जानकारी दिए ।पर्वतको दुई र म्याग्दीका सात गाविसलाई समेटिएको पदमार्गअन्तर्गत लामो तथा छोटो गरी दुई वटा मार्ग बनाइएको छ । पर्यटकीय क्षेत्रमा मिनरल वाटर बोतलको प्रयोग धेरै हुने भएपनि यी गाउँमा त्यसको प्रयोग कम हँुदै गएको संयोजक तिलिजाले जानकारी दिए ।
‘सुरु–सुरुमा हामीले गाउँमा देखिने बोतल र प्लास्टिकलाई खाल्डो खनेर व्यवस्थापन गरेका थियौँ, अहिले कडाइ गरेपछि त्यो हटेको छ,’ उनले भने ।सन् २०११ को अन्तिम यामदेखि यो पदमार्ग सञ्चालन ल्याइएको हो । म्यागासेसे पुरस्कार विजेता महावीर पुनको सक्रियतामा सञ्चालनमा ल्याइएको यस पदमार्गले म्याग्दीका पुराना र नयाँ पर्यटकीय गाउँलाई समेटेको छ ।सामुदायिक तवरले सञ्चालनमा ल्याइएको उक्त पदमार्गअन्तर्गत पर्वतको बाँसखर्क, डाँडाकटेरी, म्याग्दीका नागी, मोहरेडाँडा, स्वाँटा, खिवाङ, टिकोटलगायतका स्थानमा एकैपटक २० जना पर्यटक बस्न सक्ने सामुदायिक भवन पनि निर्माण गरिएको छ ।
सामुदायिक भवनमा खाना र नास्ता खाने र सुत्नका लागि स्थानीयवासीकै घरमा जाने व्यवस्था मिलाइएको यी गाउँमा भएको आम्दानी पनि समान तरिकाले वितरण गर्ने गरिएको छ । अहिले पर्यटकलाई पानीको व्यवस्था मिलाउन हरेक गाउँको सामुदायिक भवनमा फिल्टरको व्यवस्था गरिएकाले पर्यटकले त्यसैमा राखेको पानी प्रयोग गर्ने गरेको हिमाञ्चल उच्च माविका शिक्षक रमन पुनले बताए ।