पोखराका सबै उडान रद्द
पोखरा, ११ पुष – खराब मौसमका कारण पोखरा विमानस्थलबाट आजपनि कुनै उडान हुन सकेको छैन ।आकाशमा बाक्लो हुस्सु र बादल लागेपछि, पोखराबाट काठमाडौं तथा जोमसोमका लागि तय भएका बुधबारका सबै उडान रद्द भएका थिए । मौसममा सुधार नआएपछि, विहीबारपनि उडान हुने सम्भावना अत्यन्तै कम रहेको पोखरा विमानस्थलका प्रशासन अधिकृत काशिनाथ पौडेलले जानकारी दिए ।उडान नभएपछि, बुधबार अधिकांश यात्रुले टिकट रद्द गरेर बस गएका थिए । उडान हुने छाँटकाँट नदेखेपछि, आन्तरिक तथा बाह्य पर्यटकहरुले विहीबार पनि टिकट रद्द गरेर बसको यात्रा तय गरेका छन् । पर्यटकीय मौसममा उडान नहुँदा क्रिसमस तथा नयाँ वर्ष मान्न पोखरा आएका र पोखराबाट घर फर्किने पर्यटकहरु समस्यामा परेका छन् ।
बुधबार जोमसोमका लागि तय भएका तारा एयरलाईन्सका २ उडान रद्द भएका छथिए । यस्तै, काठमाडौंका लागि तय भएका यति, बुद्ध र सिम्रिक एयरलाईन्सका १५ वटा उडान रद्द भएका पोखरा विमानस्थलले जानकारी दिएको छ ।पोखरा काठमाडौं रुटमा मात्रै दैनिक करिब ९सय ५० यात्रु हवाई मार्ग हुँदै ओहोरदोहोर गर्ने गरेका छन् । पोखरामा मंगलबारदेखि घाम लागेको छैन भने बाक्लो हुस्सु लागिरहेको छ ।