दुर्लभ रातो पान्डा भेटियो
काठमाडौं, ९ फागुन । संखुवासभाको एक मात्र राष्ट्रिय निकुञ्ज मकालु वरुण राष्ट्रिय निकुञ्जमा विश्वबाटै लोप भइसकेको दुर्लभ जनावर रातो पान्डा भेटिएको छ ।
निकुञ्जका कर्मचारीका अनुसार जिल्लाको किमाथाङ्काको पोप्टी भञ्ज्याङमा नौ दिनभित्रमा दुईवटा रातो पान्डा भेटिएको हुन् । भेटिएका दुर्लभ रातो पान्डा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा संरक्षित वन्यजन्तुको सूचीमा रहेको बताउँदै मकालु वरुण राष्ट्रिय निकुञ्ज सङ्खुवासभाका रेन्जर मन्जित बिष्ट भने -’हामीले एक साताभित्रैमा विश्वकै दुर्लभ जनावर रातो पान्डा भेटाएका हौँ ।’बिष्टका अनुसार निकुञ्ज क्षेत्रमा मात्रै लगभग ४० वटा रातो पान्डा रहेको अनुमान गरिएको छ । करिब दुई हजार ५ सयदेखि पाँच हजार मिटरसम्मको उच्च पहाडी वनजङ्गलको वातावरणमा बस्न मन पराउने रातो पान्डा करिब १० देखि २५ डिग्री सेन्टिग्रेड तापक्रमको वनजङ्गलमा पाइने गर्दछ ।