गणेशको मूर्ति चोरी
काठमाडौं, १३ फागुन– भक्तपुरको लोकन्थलीबाट सोमबारराति गणेशको मूर्ती सहितका सामग्री चोरी भएको छ ।मध्यपुरथिमि नगरपालिका वडा नं. १६ लनेकन्थलीमा रहेको दिव्यश्वरी नजिक टीकाथली ओर्लने स्थानमा रहेको गण्शेको मन्दिरबाट मूर्ति सहितको सामाग्री चोरी भएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।
प्रहरीका अनुसार मन्दिरबाट गणेशको मूर्ति, मूर्तिको आसन, सिक्काको माला र चन्दा बाकसमा रहेको पैसा समेत चोरी भएको छ । प्रत्येक वर्ष विस्केट जात्रामा सिन्दुर जात्रा गर्दै यहाँका बासिन्दाले जात्रा मनाउने गणेशको मूर्ति चोरी भएको स्थानीय बासिन्दाले बताएका छन् ।
मन्दिरबाट करिब तीनसय मिटरवर लोकन्थली चोकमा २४ सै घण्टा प्रहरी तैनाथ हुने भएपनि प्रहरीले चोरी भएको बारे स्थानीय बासिन्दाले जानकारी दिएपछि मात्रै थाहा पाएको थियो । मूर्ति चोरीबारे अनुसन्धान सुरु भइसकेको र चोरको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।