टोखा महोत्सव १७ गतेदेखि
काठमाडौं ,१४ फागुन। प्रथम टोखा महोत्सव यहिँ फागुन १७ र १८ गते हुने भएको छ । महोत्सवमा सहभागी हुनेहरूलाई लिच्छबीकालिन पुरानो ऐतिहासिक बजार टोखावासीले अहिलेको महँगिमापनि ३ सय २० रुपैयाँमा नै विभिन्न २२ परिकारका नेवारी भोज खुवाउन लागेका छन । सो भोजमा सहभागी हुने पाहुनालाई सित्तैमा चाकु कोसेली पठाइने बताइएको छ । सरस्वती गाविस र चण्डेश्वरी गाविसको सहकार्यमा टोखा महोत्सव आयोजक समितिले सोसम्बन्धी जानकारी दिन बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेका थिए । महोत्सव मूल आयोजक समितिका अध्यक्ष गणेशमान श्रेष्ठले पर्यटकीय सम्पदाले भरिपूर्ण लिच्छविकालीन पुरानो ऐतिहासिक बजार टोखालाई थप परिचित गराउन स्थानीयवासीको सक्रियतामा महोत्सव आयोजना गर्न लागेको बताए । दुईदिने महोत्सव अवधिमा करिब १ लाख अवलोकनकर्ता भिœयाउने लक्ष्य लिएको जानकारी दिँदै उनले महोत्सवमा कुल ३३ लाख ५० हजार रुपैयाँ आम्दानी अनुमान गरिएको बताए । उनले महोत्सवकै अवसरमा स्थानीयवासीसँग भएका पुराना पुरातात्विक एवं लोप हुन लागेका वस्तुहरू संकलन गरी यस क्षेत्रलाई ‘ऐतिहासिक टोखा संग्रहालय’ बनाउने उद्देश्यका साथ आयोजना हुने सो महोत्सवस्थलमा प्रवेश गर्न २० रुपैयाँको टिकटसँगै निःशुल्क चाकु उपहारको व्यवस्था मिलाइएको बताए ।
महोत्सव प्रचारप्रसार उपसमिति संयोजक दीपेन्द्र श्रेष्ठले संसारकै उन्नत सभ्यता नेवार सभ्यताको जीवन्त प्रयोगकर्ता टोखा क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक पहिचाहनलाई आन्तरिक तथा बाह्य क्षेत्रमा चिनाउन स्थानीयवासीको सक्रियतामा महोत्सव आयोजना गरिएको बताए ।