नागदह प्रदुषणको चपेटामा
काठमाडौँ ।ललितपुरको प्रसिद्ध नागदह विगत केही वर्ष यता प्रदुषणको चपेटामा परेको छ । स्थानिय स्तरमा दहको पानीमा खुल्लारुपमा लुगाधुने र नुहाउने क्रम वढ्दै गएका कारण यो दह प्रदुषणको चपेटामा परेको हो । धार्मिक दृष्ट्रिकोणबाट पनि महत्वपुर्ण यस दहमा फोहोरहरु मिसिंदा पनि स्थानीय स्तरबाट सफाईमा कुनै पनि चासो दिईएको देखिदैन ।दहको वरिपरि विभिन्न किसिमका झारपातहरु उभ्रिएको भए पनि झारपातहरु हटाउन तिर पनि कसैको ध्यान जान नसक्दा दह अझ वढि फोहोर भएको देखिन्छ ।टाढाबाट हेर्दा दह निकै नै आर्कषक देखिने कारणले हिजो आज यहाँ पर्यटकहरुको संख्या वढ्न गएपनि यहाँ पुग्दा उनीहरु नाक खुम्च्याउन बाध्य हुन्छन् । वरिपरि पानीको धाराहरु सुक्न थाले पछि दहमा लुगा धुन र नुहाउन बाध्य हुनु परेको स्थानियवासीहरु बताउँछन् । पानीको वैकल्पिक उपाय नहुँदा दह फोहोर भएर पनि सोचेजस्तो तरिकाले सफा गर्न नसकिएको त्यहाँ रहेको नागदह संरक्षण तथा सुधार समितीले जनाएको छ ।‘टोल वरिपरिका धाराहरुमा राम्रो सँग पानी आउन छाडेको पाँच वर्षजति भयो । थोरै मात्रामा आउने पानीले खानलाई नै पुग्दैन । त्यसैले दहको पानी प्रयोग गर्नु परेको हो ।’ समितीका सदस्य साजन गिरी भन्छन् – “दहको संरक्षण र सफाईमा समितीको प्रयास जारी छ । केहि समयमै हामी यसको टुङ्गो लगाउँछौं ।” दहमा भएको झारपातलाई भने सिजन आएपछि आफैं कुहिने भएका कारण खासै ध्यान दिनु नपर्ने उनले बताए ।यहाँ दैनिक पचास देखि साठी जनाको हाराहारीमा लुगा धुने र नुहाउने मानिसहरुको भीड लाग्ने गरेको छ । दह घुम्न आउने पर्यटकहरुको संख्या ३ सय भन्दा वढि छ । दहको उचित संरक्षण र सरसफाई नगरिए यहाँ आउनेहरुको संख्या घट्न सक्ने आगन्तुकहरु बताउँछन् ।