पर्यटन बोर्डको बजेट १४ प्रतिशत मात्रै खर्च
काठमाडौँ । चैत महिनाको मध्यसम्म आइपुग्दा पनि नेपाल पर्यटन बोर्डको विनियोजित बजेटको १४ प्रतिशत रकम मात्रै खर्च भएको छ ।
बोर्डका तत्कालीन कामु कार्यकारी निर्देशक सुवास निरौलाले अवैध ढङ्गले रकमको हिनामिना गरेको भन्दै पर्यटन व्यवसायी आन्दोलित भएपछि लामो समयदेखि बोर्ड विवादमा पर्दै आएको छ ।
भ्रष्टाचारको आरोपमा हालै निरौला निलम्बित भएपछि केही समयअघि मात्रै नयाँ बजेट बनाइएको बोर्डको अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा जानकारी दिनुभयो ।
उहाँले सार्वजनिक खरिद ऐनमा रु तीन लाखभन्दा बढी रकम खर्च गर्दा बोलपत्र आह्वान गर्नुपर्ने प्रावधानका कारण पनि रकम खर्च गर्न अप्ठेरो परिरहेको गुनासो गर्नुभयो । चिनियाँ र भारतीय पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम ल्याउन मन्त्रालयले त्यसका लागि गृहकार्य अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।
समितिको आजको बैठकमा सभासद्हरुले बजेट खर्च गर्न नसकेको र गैरसरकारी संस्थाहरुलाई जथाभावी रकम वितरण गरिरहेको भन्दै बोर्डको कार्यपद्धतिको आलोचना गरेका थिए ।
सभासद् भीम रावलले बोर्डमा बजेट खर्च गर्न नियन्त्रणात्मक अवस्था आउनु राम्रो नभएको बताउँदै पारदर्शी ढङ्गले काम गर्दा परेको अप्ठेरोबारे
लिखितरुपमा प्रतिवेदन ल्याए सहजीकरणका लागि समिति भूमिका खेल्न तयार रहेको धारणा राख्नुभयो ।
सभासद् बलबहादुर केसीले पर्यटन क्षेत्र घोषणा गर्ने प्रतिस्पर्धा बढ्नु तर त्यसका लागि आवश्यक न्यूनतम पूर्वाधार तयार नगर्नुले समस्या उत्पन्न भएको बताउनुभयो ।
सभासद् जीतेन्द्र देवले गुरुयोजना बनाई पर्यटन केन्द्रको पहिचान, प्राथमिकता निर्धारण र लक्ष्य किटान गर्न जरुरी रहेकामा जोड दिनुभयो ।
सभासद्हरुको सुझावअनुरुप समितिले बोर्डको विनियोजित रकमको खर्च कम देखिएकाले त्यसको दायरा फराकिलो पार्दै लक्ष्यअनुरुप खर्च बढाउन निर्देशन दिएको छ ।
त्यस्तै बैठकले गैरसरकारी संस्थालाई बोर्डका तर्फबाट दिइने सहयोग पारदर्शी बनाउन र लेखा परीक्षण गराएको संस्थालाई मात्रै सहयोग दिन निर्देशन दिएको समितिका सभापति प्रभु साहले जानकारी दिनुभयो । – रासस