सगरमाथामा नया रेकर्ड कायम गरिदै
काठमाडौ । यस वर्षको वसन्त यामलाई साइत पारेर सर्वोच्च शिखर सगरमाथामा हालसम्मकै सबैभन्दा धेरै दल र आरोहीले आरोहण गर्दै छन् । यो साताको पहिलो चार दिनमा मात्रै २८ आरोहण दलले पर्यटन विभागबाट अनुमति लिएका छन् । ‘यो वर्ष हालसम्मकै धेरै आरोही पुग्ने सम्भावना छ,’ विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले बिहीबार कान्तिपुरसित भने, ‘यो वर्ष ४० भन्दा धेरै आरोहण दल पुग्ने सम्भावना देखीएको छ ।’ एक आरोहण दलमा कम्तीमा एकदेखि बढीमा १५ जनासम्म हुने गर्छन् ।
गत वर्ष हिमपहिराका कारण सगरमाथा आरोहण रोकिएको थियो । गएको वैशाख ५ गते पहिलो शिविरलगत्तै खुम्बु आइसफलमाथि हिमपहिरो जाँदा १३ जना शेर्पा आरोहीको मृत्यु भएको थियो । यो घटनापछि सगरमाथा चढ्न जाने ३१ आरोहण दलका ३ सय २६ जना हिमाल नचढी फर्केका थिए । विभागको पर्वतारोहण शाखाका नायबसुब्बा ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार गत वर्षको घटनाका कारण पनि यस वर्ष संख्या बढ्ने सम्भावना धेरै छ ।
श्रेष्ठका अनुसार बिहीबारसम्म ४८ आरोहण दलले अनुमति लिएका छन् । यसमध्ये २८ वटा आरोहण दलले सगरमाथाका लागि, नौ वटा ल्होसे, पाँच वटा अन्नपुर्ण र एउटा दलले धौलागिरिका लागि अनुमति लिएका छन् । २३ वटा आरोहण दल शुक्रबार काठमाडौं छाड्दै छन् । थप पाँच वटा आरोहण दल अनुमतिको अन्तिम प्रक्रियामा छन् ।
सगरमाथाका लागि वैशाख पहिलो सातासम्म अनुमति लिनेहरू विभाग पुग्छन् । ल्होसे आरोहण गर्नेहरूमध्ये ६ वटा दल त्यतातर्फ गइसकेका छन् भने ३ वटा दलले विभागमा अनुमतिका लागि फाइल बुझाएका छन् । त्यसैगरी मकालु र मनास्लु हिमाल ओरहण गर्ने एक/एक वटा आरोहण दल हिँडसकेको छ ।
महानिर्देशक गौतका अनुसार सगरमाथाको पहिलो क्याम्प र त्यसभन्दा माथिको बाटो खोल्ने काम धमाधम भइरहेको छ । ‘पहिलो क्याम्पसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समितिले खोल्दै छ । त्यसमाथिको बाटो एक्सपिडिसन अपरेसन एसोसिएसनले खोल्दै छ,’ महानिर्देशक गौतमले भने । उनले यस वर्ष एउटा कोरियाली दृष्टीविहीन, विदेशी एचआईभी पीडित र एउटा नेपाली दस दिनमा सगरमाथा आरोहण गरी काठमाडौं फर्किने अभियानमा छन् ।
यसैबीच सरकारले यस वर्षदेखि सगरमाथा आरोहण सलामी (राजस्व) दर ११ हजार अमेरिकी डलर तोकेको छ । पर्वतारोहणसम्बन्धी नियमावली चौथो पटक संशोधन गर्दै गत वर्ष आरोहण गर्न नसकेर फर्केका तर सलामी तिरेका समूहलाई पाँच वर्षभित्र आरोहण गर्न सकिने व्यवस्था गरिदिएको छ । यो नियमले सगरमाथासहित ल्होसे र नुप्से हिमाल चढ्न नसकेर फर्केका समूहलाई पनि समेटेको छ ।
गत वर्ष विभागले सगरमाथाका लागि अनुमति लिएका ३१ वटा दलका ३ सय २६ आरोहीबाट ३१ करोड २९ लाख रुपैयाँ राजस्व जम्मा गरेको थियो भने नुप्से आरोहणको अनुमति लिने दलबाट २७ लाख ८३ हजार र ल्होसे आरोहण गर्ने अनुमति लिएका ९ वटा दलबाट १ करोड २७ लाख रुपैयाँ सलामी संकलन गरेको थियो । तर वसन्त सिजनको सुरुवातमै हिमपहिरामा १३ शेर्पाको मृत्यु भएपछि त्यस क्षेत्रका तीन वटै हिमाल आरोहण रोकिएका थिए ।