चैत स्नान मेला सुरु
काठमाडौं । सिन्धुपाल्चोकको प्रख्यात तातोपानीधारामा चैत स्नान मेला सुरु भएको छ । चैत महिनाभर लाग्ने यो मेलामा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लागेको तातोपानीधारा व्यवस्थापन समितिले जनाएको छ । प्राकृतिकरुपमा ४४ डिग्री सेन्टीग्रेड तापक्रमयुक्त तातोपानी धारा पानीमा गन्धक मिसिएकाले छालासम्बन्धी विभिन्न किसिमका रोग निको हुने विश्वासका साथ स्नान गर्नेहरुको मेलामा घुइँचो लाग्ने गरेको छ । त्रेतायुगमा शृङ्गी ऋषिले तपस्या गर्न कैलाश पर्वत जाने क्रममा त्रिशूलले खोप्दा नेपाल–चीन सीमावर्ती क्षेत्रका तातोपानीधारा सिर्जना भएको धर्मशास्त्रमा वर्णन गरिएको छ । प्रत्येक वर्ष कात्तिक र चैत महिनाभर ती धारामा स्नानमेला लाग्ने गरेको छ । पछिल्लो समय तातोपानीधारा मुलुककै आकर्षण पर्यटकीयस्थलका रुपमा रुपान्तरण भएको छ ।
गत वर्ष तातोपानीमा एकलाख ४२ हजार २०९ जनाले स्नान गरेकामा चार हजार ५५२ जना विदेशी पर्यटक रहेको समितिले जनाएको छ । तातोपानी धारामा महिला र पुरुषलाई नुहाउने छुट्टाछुट्टै सातवटा धाराको व्यवस्था गरिएको छ भने पारिवारिक वातावरणमा नुहाउनका लागि अतिरिक्त शुल्कमा बाथटपको व्यवस्था मिलाइएको तातोपानीधारा व्यवस्थापन समितिका कामी शेर्पाले बताए ।
काठमाडौँबाट १११ किलोमिटरको दूरीमा पर्ने तातोपानीधारामा तीनदेखि चार घन्टाको यात्रामा आइपुगिन्छ । एकैदिनमा यहाँ आएर फर्किन सक्ने भएकाले राजधानीमा पेसा–व्यवसाय गरिरहेका मानिस बिदाका दिन यहाँ आउने भएकाले घुइँचो लाग्ने गर्दछन् ।