आनन्दकुटी विहार पूर्ण क्षतिग्रस्त

२०७२ बैशाख १८ गते, शुक्रबार

काठमाडौँ । नेपालमा थेरवादी बौद्ध विहारमध्ये पुरानो मानिने स्वयम्भूस्थित आनन्दकुटी विहार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । शनिबार आएको विनाशकारी भूकम्पका कारण विहारका आवासीय कक्ष चर्केर प्रयोग गर्नै नमिल्ने अवस्थामा पुगेको छ । विहारको सभाकक्ष तथा भान्सा मर्मत गरेर पनि प्रयोग गर्न नसकिने अवस्था छ । श्रीलङ्का सरकारको सहयोगमा निर्माण गरिएको श्रीरामलङ्का चैत्यमा भने सामान्य क्षति पुगेको छ ।
देशमा राणा शासन उत्कर्षमा पुगेका बेला विसं १९९६ मा स्थापित सो विहारमा विशेषगरी थेरवादी बौद्ध धर्मावलम्बीले विभिन्न धार्मिक गतिविधि सञ्चालन गर्दै बौद्ध उपदेश तथा दर्शनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न योगदान पु¥याएका छन् ।
विसं २००७ पछि मुलुकमा प्राप्त प्रजातान्त्रिक पद्धतिपछि सोही विहारको सक्रियतामा भुइँखेलमा अवस्थित चोकमा पहिलो पटक बुद्ध जयन्ती औपचारिक रुपमा मनाइएको थियो । त्यसपछि विहारमा प्रत्येक वर्ष बुद्ध जयन्तीका दिन औपचारिक रुपमा विशेष कार्यक्रम हुने गरेको छ ।
मुलुकमा अहिले प्राचीन महत्वका करिब ४० थेरवादी बौद्ध विहार भए पनि त्यहाँ हुने विभिन्न धार्मिक तथा सामाजिक गतिविधिले गर्दा त्यसको गौरवमय इतिहास छ । त्यसैगरी बुद्ध जयन्तीमा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको आतिथ्यतामा हुने मुख्य सार्वजनिक समारोह तथा प्रत्येक चार वर्षमा हुने अस्थी धातु यात्रा र प्रदर्शनीले विहारको महत्वलाई विशिष्ट बनाएको भिक्षु कौडण्यले जानकारी दिनुभयो । विहारले मुलुकको शैक्षिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आनन्दकुटी विद्यापीठ सञ्चालन गर्दै आएको छ ।
बुद्धजयन्ती स्थगित
अखिल नेपाल भिक्षु महासङ्घले यस वर्ष दुई हजार ५५९आँै बुद्ध जयन्तीका लागि तयार गरेको सम्पूर्ण औपचारिक कार्यक्रम स्थगन गरेको छ । राष्ट्र अहिले गम्भीर विपद्मा रहेकाले यही वैशाख २१ गते हुने बुद्ध जयन्तीका कार्यक्रम स्थगन गरिएको महासङ्घका अध्यक्ष भिक्षु ञानपूर्णिकले बताउनुभयो ।
विहारले पनि भौतिक संरचना जीर्ण भएका कारण तथा महासङ्घको निर्देशनअनुसार यस पटक हुने बुद्धजयन्तीलाई औपचारिक रुपमा नमनाउने निर्णय गरेको छ । विहारका प्रमुख भिक्षु धम्ममूर्तिले ऐतिहासिक विहारको पुनःनिर्माण गर्न पुरातत्व विभाग तथा स्थानीय वडालगायतसँग सहकार्य गरिने जानकारी दिँदै त्यसका लागि सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
थानकोटको शुभमङ्गल विहारमा पनि थेरवादी बौद्ध गतिविधि हुने गर्छ । सो विहारमा पनि भूकम्पका कारण चैत्यको गोलाद्र्धमा चर्केर क्षति पुगेको छ । विहारका पर्खालमा सामान्य नोक्सानी भएको छ । भृकुटीमण्डपमा रहेको बुद्ध विहार तथा मीन भवनमा रहेको विश्व शान्ति विहारमा समेत भूकम्पले नोक्सानी पु¥याएको छ । अन्य थेरवादी विहारको अभिलेख आउने क्रममा रहेको भिक्षु कौडण्यले बताउनुभयो । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु