नगरकोट पर्यटकबिहिन
काठमाडौं, २९ बैशाख । पर्यटकबिना अहिले नगरकोटका होटल सुनसान छन् । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पले सधै पर्यटकको चहलपहल रहने नगरकोटका अधिकांश होटल भत्किए पछि नगरकोट सुनसान भएको हो । भूकम्पले भक्तपुर र काभ्रे जिल्लाको सिमानामा पर्ने पर्यटकीय स्थल नगरकोटमा सञ्चालन रहेका दर्जनौ होटल तथा रिसोर्टहरु भग्नावशेषमा परिणत भएपछि पर्यटकको आगमनसमेत भएको छैन । नगरकोट नाल्दुम पर्यटन विकास समितिका अनुसार नगरकोटका १२ ठूला होटलहरु पूर्ण रुपमा भत्किएको छ । अन्य ७ वटा होटलमा पनि क्षति पुगेको समितिका अध्यक्ष दिपक लामिछानेले बताए । नगरकोटमा रहेका होटल स्नोम्यान, होटल स्पेश माउण्टेन, नाल्दुम भिलेज रिर्सोट, होटल भ्यु प्वाइन्ट, होटल ग्रिन भ्याली, पानोरमा भ्यु र द र्फोट रिर्सोट होटल पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । होटल उन्काई रिर्सोट, द निभा निभा प्रालि, होटल चौतारी, क्लब हिमालयसमेत भूकम्पले केही क्षति गरेको छ । होटल व्यावसायीले क्षति पुगेका होटल पुनः सञ्चालनमा ल्याउन नसकिने बताए । होटल व्यवसायी श्याम कायस्थले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्दै आएको नगरकोट होटलमा भूकम्पले क्षति भएपछि सञ्चालनमा समस्या आएको बताए ।
अधिकांश स्थानीयबासिन्दाको रोजगारीको गन्तव्यसमेत रहेको नगरकोटका होटलमा कार्यरत मजदुरहरुको रोजीरोटीसमेत भूकम्पले खोसेको छ । यहाँका होटलहरु बन्द भएपछि घर फर्किएका मजदुरहरुको घर समेत भत्किएर ध्वस्त भएपछि अहिले मजदुरसमेत समस्यामा परेको स्थानीय धनबहादुर लामाले बताउए ।