पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग

२०७२ जेष्ठ २७ गते, बुधबार

काठमाडौं , २७ जेठ । बिगत चार वर्षदेखि कार्यकारी प्रमुखबिहीन नेपाल पर्यटन बोर्डमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दोस्रो पटक आवेदन मागिएको छ । आज बोर्डले १५ दिनको म्याद राखी आवेदन माग गरेको हो । यसअघि पनि बोर्डले सिइओको पदपूर्तीका लागि आवेदन मागेको थियो । त्यतिबेला बोर्डले आवेदकहरु छनौट गरी १२ जनाको नाम ‘सर्ट लिष्ट’मा पारेको थियो । तर, त्यतिबेला बोर्डका तत्कालिन निमिक्त सिइओ सुभाष निरौलाले मुद्धा मामिलामा उत्रिएपछि सिइओ छनोट प्रकृया रोकिएको बताइन्छ ।
सिइओ छनौट प्रक्रिया पनः अघि बढाउन बोर्डले यही जेठ १७ गते तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा पर्यटन मन्त्रालयका सहसचिव मोहन कृष्ण सापकोटा, बोर्डको कार्यकारी समितिमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरु घनेन्द्र श्रेष्ठ र राजेन्द्र सापकोटा रहेका छन् ।
यही समितिले बोर्डमा सिइओ नियूक्ती प्रकृया अगाडि बढाएको हो । ‘यसअघि सर्ट लिष्टमा परेका आवदेकहरुलाई कायम राखेर नयाँ आवेदन मागिएको छ’ छनौट समितिका सदस्य घनेन्द्र श्रेष्ठले भने- ‘सिइओका लागि नयाँ सोँच र विचार भएका प्रतियोगीहरु बढी होउन भनेर नयाँ आवेदन मागिएको हो ।’
यसअघि सर्ट लिष्टमा परिसकेका उम्मेदवारले पुनः सिइओका लागि प्रतिस्पर्धा गर्न इच्छुक भए १५ दिनभित्र जानकारी गराउनुपर्ने समितिका अर्का सदस्य मोहनकृष्ण सापकोटाले बताए ।
सर्ट लिष्ट गरिएका उम्मेदवारमा दीपकराज जोशी, हरि शर्मा, नारायण प्रधान, हुम गुरुङ, लोक बहादुर खत्री, भूमी लामा, रघु विष्ट, विष्णु जिसी, सुभाष निरौला, ज्ञानेश्वर महतो, ज्ञानेन्द्र तुलाधर, शिव शरण थापा रहेका छन् ।
यीमध्ये सुभाष निरौलालाई बोर्डको भ्रष्टाचार काण्डमा अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरिसकेको छ । उनी उम्मेदवारको लिष्टबाट बाहिरिएका छन् । शिवशरण थापा अमेरिकामा रहेको बताइएको छ भने हरिहर शर्मा र लोकबहादुर खत्री विरामी परेको बुझिएको छ । भूमी लामाको उमेर ६५ माथि पुगिसकेको बताइएको छ । बोर्डको सिइओका लागि उमेर हद भने तोकिएको छैन ।
प्रचण्डमान श्रेष्ठ बोर्डको सिइओ हुँदै नयाँ सिइओको आवेदन मागिएको थियो । आवेदन मागेपछि छनौट कार्य सुरु हुँदा सिइओ छनौट समितिका सदस्यहरुको कार्यअवधि ५/७ दिनमात्र बाँकी थियो ।
निजी क्षेत्रबाट सहभागी बोर्ड सदस्यहरु गणेश सिम्खडा, ङिमी शेर्पा र ध्रुबनारायण श्रेष्ठको समितिले विज्ञापन गरेर सर्ट लिष्ट गरेपनि अन्तिम समयमा सुभाष निरौलाले चलखेल गरेपछि तत्कालिन पर्यटन मन्त्रीले छनौट प्रकृया केही समय रोक्न आग्रह गरेको बताइन्छ ।
उम्मेदवारले अन्तरवार्ताको चिठीसमेत बुझिसकेका थिए । त्यतिबेला एकजना सदस्यमात्र सुभाष निरौलाको पक्षमा देखिएपछि आफु सिइओ नहुने देखेर उनले चलखेल सुरु गरेको पुराना उम्मेदवारको गुनासो छ ।
त्यसपछि अदालतमा निरौलासहित विभिन्न व्यक्तिहरुबाट मुद्दाको ओइरो लागेपछि सिइओ नियुक्ती प्रकृया अवरुद्ध भएको थियो । पछि दुई सदस्यीय समिति बनाएर अन्तरवार्ताको मिती पुनः तोकिँदा पनि मुद्धा परेर छनौट प्रकृया रोकिएको थियो ।
यसअघि बोर्डको सिइओ छनौटका लागि निजी क्षेत्रबाट सहभागी तीनजना कार्यकारी सदस्य भएको समिति हुनुपर्नेमा व्यवस्था थियो । अहिले सिइओ छनौट प्रकृयालाई सहज बनाउन नियमावली परिवर्तन गरेर २ जना निजी क्षेत्रका र एकजना सरकारी क्षेत्रबाट एकजना रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु