पर्यटकका निम्ति सम्पदा भ्रमण खुला

२०७२ जेष्ठ ३२ गते, सोमबार

काठमाडौं, ३२ जेठ । सरकारले भूकम्पले क्षति भएका क्षेत्रमा सजग गराउँदै पर्यटकलाई भ्रमणका लागि सोमबारदेखि खुला गरेको छ। चाँगुनारायण बाहेकका क्षेत्रमा पर्यटकले भ्रमण गर्न सक्ने पुरातत्व विभागले जनाएको छ। पर्यटन आगमनलाई सामान्य अवस्थामा लैजान भन्दै निजी व्यवसायीको अनुरोधपछि सरकारले यस्तो तयारी गरिरहेको थियो। ‘भग्नावशेषभित्र रहेका सबै पुरातात्विक सामग्री सबै सुरक्षित राखिएका छन्,’ पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘सबै तयारीसाथ खोल्न लागेका हौं। कुनै जोखिम छैन।’
विभागका अनुसार भूकम्पले १ सय ३३ वटा सम्पदा पूर्ण रुपमा क्षति भएका छन्। नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले करिब दुई साताअघि यस्तो तयारी थाल्न सरोकारवाला, निजी क्षेत्र र नेपाल पर्यटन पुनरुत्थान कमिटीसँग छलफल गरेका थिए।’काठमाडौं, भक्तपुर, पाटन दरबार लगायत पशुपति बौद्धनाथ र स्वयम्भु क्षेत्रमा भग्नावशेषलाई सफाइ गरिएको छ,’ उनले भने, ‘ती क्षेत्रका भग्नावशेष बाहेकका क्षेत्रमा पुगेर हेर्न पाइन्छ। चाँगुनारायण भने खोल्न सकिएको छैन।’
काठमाडौं महानगरपालिकाले काठमाडौं दरबार क्षेत्र आउने पर्यटकलाई शुक्रबारबाटै शुल्क उठाउन थालिसकेको छ। ‘सरकारले अन्य क्षेत्रमा पनि सोमबारदेखि खोल्न लागेकाले आधिकारिक रुपमा सोमबारदेखि नै सुरु गर्छौ,’ महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, ‘उनीहरुलाई कसरी सुरक्षित रुपमा यात्रा गराउने भन्ने दायित्व हाम्रो हो।’ उनका अनुसार सम्पदा क्षेत्रका जोखिम क्षेत्रमा ‘खतरा’ रहेको जनाउ दिएर प्रवेश निषेध गरिएको छ। साथै, सर्वसाधारण हिँड्ने बाटो मात्रै पर्यटकका लागि खुला गरिएको पनि उनले बताए। ‘सर्वसाधारण हिँड्ने बाटो भएर पर्यटकले दरबार क्षेत्र अवलोकन गर्ने हुन्,’ उनले भने, ‘पर्यटकलाई अनिवार्य हेलमेटको व्यवस्था गरेर भ्रमण गर्न अनुरोध पनि गरेका छौं।’उनका अनुसार काठमाडौं दरबार क्षेत्रका गद्दी बैठक क्षेत्रलगायत संवेदनशील क्षेत्रमा पर्यटकलाई सजग बनाउन सक्नुपर्छ। यसबाहेक भक्तपुर र पाटन दरबार क्षेत्र पर्यटकका लागि सुरक्षित रहेको उनले बताए। ‘संवेदनशीलतालाई ध्यान दिँदै पर्यटकका लागि खोल्नुपर्छ,’ उनले थपे। युनेस्कोले सुरक्षाको कारण देखाउँदै कतिपय सम्पदास्थल खोल्दा सरकारलाई सजग रहन बिहीबार आग्रह गरेको थियो। धेरैजसो स्मारक स्थल सुरक्षाका हिसाबले अझै जोखिमपूर्ण अवस्था देखाउँदै काठमाडौंस्थित युनेस्को कार्यालयले सावधानी अपनाउन अनुरोध गरेको थियो।
सर्वसाधारणको सहजै पहुँच हुन सक्ने भक्तपुर दरबार परिसर, पशुपतिनाथ र बौद्धनाथ स्तुप लगायत क्षेत्रका सम्पदावरिपरि भत्किएका संरचनाको सुरक्षा गर्नुपर्ने र धरासयी संरचनास्थलमा सर्वसाधारणलाई प्रवेश दिन नहुने कुरामा सचेत रहन आग्रह गरेको छ। युनेस्को काठमाडौंले गरेको प्रारम्भिक अध्ययन अनुसार पाटन दरबार क्षेत्रका आधा मन्दिर भत्किएका छन्। यसबाहेक हनुमानढोका र भक्तपुर दरबार क्षेत्रका ८० प्रतिशत भत्किएको तथ्यांक छ।
वैशाख १२ र २९ मा गएको विनासकारी भूकम्पले उपत्यकाका मठमन्दिर, पाटीपौवा, सत्तल, दरबार लगायत सम्पदालाई धेरै असर गरेको विभागले बताउँदै आएको छ। काठमाडौं विश्व सम्पदामा सूचीकृत सात स्मारकस्थलमध्ये हनुमानढोका दरबार क्षेत्रमा ९० प्रतिशत क्षति पुगेको विभागको प्रारम्भिक अध्ययनले देखाइसकेको छ। विभागले महाभूकम्पले प्रभावित जिल्लाका ६० भन्दा बढी पुरातात्विक सम्पदा पूर्ण रुपमा क्षति भएको बताइसकेको छ। २ सय ५० भन्दा बढी स्मारकमा आंशिक क्षति भएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु