बागलुङमा हनुमान नाच
काठमाडौ, ९ भदौ । बागलुङमा ऐतिहासिक महत्व बोकेको हनुमान नाच प्रदर्शन गरिएको छ । एक दशकदेखि रोकिएको हनुमान नाच यहाँका नेवार समुदायले मुलुककै सांस्कृतिक धरोेहरका रुपमा रहेको नाच प्रदर्शन गरेका हुन् । हनुमान नाच संरक्षण परिषद्ले मङ्गलबार एक कार्यक्रको आयोजना गरी करिब तीन शताब्दी पुरानो लोकसंस्कृतिका रुपमा परिचय बनाएको हनुमान नाच लोप हुँदै जान थालेपछि संरक्षणका लागि परिषद् नै गठन गरेर संरक्षणमा लागेको अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताए ।
अन्य नाचभन्दा अलि बढी मिहेनत र तयारी गर्नुपर्ने भन्दै नाच प्रदर्शनका लागि केही साताअघि देखि प्रशिक्षण सुरु गरिएको थियो । “कला, संस्कृति र संस्कारको संरक्षण, संवर्दन र विकासका लागि हामी क्रियाशील बनेका छौँ”, श्रेष्ठले भने , “पुस्ता अन्तरका कारण ऐतिहासिक महत्व बोकेको लोकसंस्कृति लोप हुने अवस्थामा पुगेको छ ।” नाचको महिमा, महत्व र कला नयाँ पुस्तामा हस्तान्तरणका लागि विभिन्न प्रयास भइरहेको उनले बताए ।
सोह्रदेखि ४० वर्ष उमेर बीचका युवाले नाच प्रदर्शन गरेका थिए । नाचको महिमा र महत्व विस्तारका लागि बजारका चोकचोकमा उक्त नाच प्रदर्शन गरिएको थियो । खासगरी नेवार समुदायका युवा सहभागी हुने यस नाचमा १३ जोडा भई हनुमान शैलीमा नाच देखाइने गरिन्छ । निकै आकर्षक लाग्ने यस नाच हिन्दू संस्कारअनुसार रामायणलाई मूल आधार मानेर बिजोर वर्ष पारेर प्रदर्शन गरिने यस नाचका विषयमा अन्वेषण गरेका प्राज्ञ प्रेम छोटाको भनाइ छ ।
प्राज्ञ छोटाका अनुसार भगवान् रामचन्द्रकी पत्नी सीतालाई लङ्काका राजा रावणले हरण गरी लग्दा हनुमानको सहयोगमा सीतालाई हरण हुनबाट जोगाइएको छ ।