पर्यटन प्रवद्र्धनका लागि ‘जे’ टू ‘जे’ अवधारणा सार्वजनिक
काठमाडौँ । मुलुकको पर्यटन प्रवद्र्धनका लागि ‘जे’ टू ‘जे’ अर्थात् जर्नालिष्ट टू जर्नालिष्ट सम्मेलनको अवधारणा सार्वजनिक गरिएको छ । भूकम्पपछिको पर्यटन प्रवद्र्धनका लागि पर्यटन पत्रकार सङ्घ (जाट–नेपाल) ले यस्तो अवधारणा ल्याएको हो । टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आज पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सङ्घका उपाध्यक्ष शिव श्रेष्ठले व्यापार प्रवद्र्धनका लागि गरिने ‘बि’ टू ‘बि’को अवधारणा अनुरुप नै ‘जे’ टू ‘जे’को अवधारणा ल्याइएको बताए ।
कार्यक्रममा टानका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद रिजालले आफूले पहिलेदेखि नै महसुस गरिरहेको कार्यक्रमको अवधारणा पर्यटन पत्रकार सङ्घले ल्याएकामा खुसी व्यक्त गर्दै ‘जे’ टू ‘जे’ सम्मेलन गर्न सकिएका खण्डमा देशलाई फाइदा पुग्ने बताए ।
टानका महासचिव कर्ण लामाले पर्यटन पत्रकारकै लागि भनेर टानको नयाँ कार्यसमितिको पहिलो बैठकले नै पदयात्रा पर्यटन पत्रकार कोषको स्थापना गरेको जानकारी दिए ।
टानको नयाँ कार्यसमितिलाई बधाई दिँदै नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले ‘जे’ टू ‘जे’ सम्मेलन गराउनका लागि बोर्डले समेत नेतृत्वदायी भूमिका निर्वाह गराउने बताए । उनले भूकम्पपछि नेपालमा करिब ३०० को हाराहारीमा विदेशी पत्रकार भ्रमणका लागि आएको बताउँदै आगामी दिनमा यस्ता पत्रकारलाई पनि जाट–नेपालसँगको सहकार्यमा भ्रमण गराउने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ जापानका अध्यक्ष तिलक मल्लले नेपालका पत्रकारले दिएको सन्देशलाई नै विदेशी पत्रकारले समाचारको सामग्री बनाउने भन्दै सकारात्मक समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताए । कार्यक्रममा जाट–नेपालका अध्यक्ष देवी पन्तले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए ।