पोखरा महोत्सव पुस ३० देखि
काठमाडौैँ, २३ पुस । पोखराको अमरसिंह चौरमा आगामी पुस ३० गतेदेखि माघ १० गतेसम्म पोखरा महोत्सव हुने भएको छ । महोत्सवको आम्दानीबाट चिडियाखाना निर्माणदेखि सेती नदी संरक्षण जस्ता कार्यमा सहयोग गरिने आयोजक युनाइटेड क्लबले जनाएको छ । भूकम्प र नाकाबन्दीका कारण प्रभावित पोखराको पर्यटनलाई उकास्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको महोत्सवको कुल लाभांशमध्ये २० प्रतिशत रकम चिडियाखाना निर्माणका लागि छुट्याइने छ । महोत्सवमा आउने प्रत्येक व्यक्तिले लिने टिकटबाट एक रुपैयाँ छुट्याएर सेती नदी संरक्षणमा सहयोग पु¥याउने क्लबको लक्ष्य छ । क्लबका अध्यक्ष हिमालय बख्रेलकाअनुसार वृहत पोखराको अवधारणा अनुसार पोखराको नयाँ पर्यटकीय आकर्षणका रुपमा लेखनाथको ११, १२, र १४ नम्बर वडामा रहेका पचभैया, चैनपुर र चाँपापानी चिसाकुना सामुदायिक वनलाई समेटेर चिडियाखाना बनाउन लागिएको छ । क्लबको विशेष पहल एवम् स्थानीयवासीको सक्रियतामा यहाँको १३४ हेक्टर क्षेत्रमा चिडियाखाना निर्माण गर्न लागिएको जानकारी गराउँदै उनले क्लबले विगत पाँच वर्षदेखि पोखरा महोत्सव गर्दै आएकोमा उक्त महोत्सवको आम्दानीको २० प्रतिशत रकम चिडियाखाना निर्माणकै लागि छुट्याइएको बताए । यसवर्ष पनि महोत्सवको कुल आम्दानीको २० प्रतिशत चिडियाखाना निर्माणका लागि छुट्याइने उनले बताए । “महोत्सवबाट हालसम्म चिडियाखाना निर्माणका लागि रु १५ लाख जम्मा भइसकेको छ,” उनले भने , “क्लबको पहल र सामुदायिक वन उपभोक्ता समिति, वन कार्यालय, स्थानीय प्रशासन, स्थानीय निकाय, राजनीतिक दल, विभिन्न सङ्घ संस्थाको सहयोगमा चिडियाखाना निर्माण कार्यलाई अघि बढाइएको हो ।” महोत्सवमा काटिने प्रतिटिकटको रु १०० सेती नदी संरक्षणमा खर्च गरिने छ ।
महोत्सवमा विभिन्न संस्कृतिको प्रदर्शनसहित यसपटक एकल नृत्य प्रतियोगितासमेत सञ्चालन हुने क्लबले जनाएको छ । महोत्सवको छैटौं संस्करणको पोखरा महोत्सवमा दोस्रो संस्करणको खुल्ला एकल नृत्य प्रतियोगिता पोखरा तारा दुई सञ्चालन गरिने भएको छ । नेपाली संस्कृतिलाई उजागर गर्दै नयाँ प्रतिभाको खोजी गर्न प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक सुरज थापा मगरले बताए ।
विशुद्ध नेपाली संस्कृति र आधुनिक ढङ्गको नृत्य हुनुपर्ने सो प्रतियोगिताको प्रथम हुनेलाई पोखराको तारा उपाधिसहित रु ५० हजार नगद र म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने छ । द्धितीय हुनेलाई रु २५ हजार र म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने तथा तेस्रो हुनेलाई रु पाँच हजार प्रदान गरिने छ । महोत्सवमा २२० वटा स्टल(कक्ष) रहने अध्यक्ष बख्रेलले जानकारी दिए ।