दूधमति महोत्सव जेठ २ गते
काठमाडौं, ६ बैशाख । आगामी जेठ २ गते जनकपुरधाममा दूधमति महोत्सव हुने भएको छ । जानकीको जीवनगाथासँग सम्बन्धित दुग्धमति (दूधमति) नदी संरक्षणका लागि सो महोत्सव हुन लागेको हो । सो नदीलाई प्राचीन धर्मग्रन्थमा सरस्वतीको अवतार, विद्या र बुद्धि दात्री भनी उल्लेख गरिएको छ ।
दूधमति नदीको उद्गमस्थल पहाड नभई जनकपुरधामबाट करिब छ कोस टाढा रहेका एउटा ताल हो । बूढापाकाका अनुसार सो नदीबाट कलियुगसम्म दूध नै बग्ने गर्दथ्यो तर एक दिन तिर्खाएका एउटा बाहुनले नदीमा गई दूध खाएका कारण दूध नदी पानी झैँ हुन गएको हो ।
दूधमति नदीको किनारमा बसेर तपस्या र भजन गर्नेलाई माता जानकीले चिताएको कुरा पूरा गरिदिने धारणा पनि पाइन्छ । दूधमतिको सानिध्यमा गरेको जप, स्वाध्याय कहिल्यै पनि निष्फल हुन नसक्ने विश्वासले साधुसन्तका लागि विगतमा सो नदी तपोस्थलका रूपमा रहेको देखिन्छ । जनकपुरको जनघनत्व वृद्धिसँगै हाल आएर अतिक्रमित र प्रदूषित हुँदै गएका कारण सो नदीमा स्नान र दर्शन गर्ने श्रद्धालुलाई समस्या भइरहेको छ । उपमहानगरपालिकाले यसको वरिपरिका क्षेत्रमा प्रहरी र अस्पतालबाट प्रमाणित बेवारिस लासलाई गाड्ने स्थलका रूपमा प्रयोग गरेकाले पनि यसको संरक्षणप्रतिको चासो घट्दै गएको बताइन्छ । यसको महत्वलाई ध्यानमा राख्दै श्रद्धालु जमिरिया देवीले नदीको छेउस्थित बेला गाउँमा दूधमति माता मन्दिर निर्माण गरी जग्गासमेत दिएकी छिन् तर त्यसको समुचित संरक्षण हुन नसकेको छैन ।
यसैबीच, यसको गरिमालाई विश्वभरि प्रचारप्रसार गर्ने उद्देश्यले अभियानकर्ता भोगेन्द्र कर्णले दूधमति गरिमा संरक्षण अभियान सुरु गरेका छन् । अभियानअन्तर्गत सफाइ तथा वृक्षरोपण, नित्य आरती र महोत्सवको आयोजना गर्ने कार्यक्रम रहेको छ । दूधमति नदीलाई विश्वमाझ चिनाउन आगामी जेठ २ गते जानकी नवमीका दिन दूधमति महोत्सवको आयोजना पनि गरिएको अभियानकर्ता कर्णले जानकारी दिए ।