माछाको स्वाद लिँदै वेगनासमा डुङ्गा सयर

२०७३ बैशाख १४ गते, मंगलवार

काठमाडौं, १४ वैशाख । पोखरा बजारको उत्तरपूर्वी भेग लेखनाथ नगरपालिकामा अवस्थित वेगनास ताल स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ । प्रकृतिप्रदत्त सुन्दर तालका रुपमा रहेको ७.५ मिटर गहिरो तथा २२५ हेक्टर क्षेत्रफलमा फैलिएको वेगनास तालको अवलोकन गर्न र यहाँ पाइने स्थानीय जातका माछाको स्वाद लिन पर्यटक आउने क्रम पछिल्ला दिनमा बढ्दै गएको छ ।
समुद्री सतहबाट ६७७ मिटरको उँचाइमा रहेको सो तालमा पाइने स्थानीय जातका माछाको अवलोकन गर्न पर्यटक लोभिने गरेका छन् । वेगनास डुङ्गा व्यवसायी समितिका अध्यक्ष ढकनाथ कँडेल वेगनास आउने पर्यटक स्थानीय जातका माछाको स्वाद लिन र डुङ्गामा सयर गर्न लोभिने गरेको बताउनुहुन्छ । वेगनास तालमा दैनिक करिब ५०० पर्यटक आउने गरेकामा आधा जतिले डुङ्गा चढ्ने गरेका छन् ।
डुङ्गा व्यवसायी समितिमा २५७ वटा डुङ्गा दर्ता भएकामा हाल लगभग २०० को सङ्ख्यामा डुङ्गाले सेवा प्रवाह गरिरहेको कँडेल बताउनुहुन्छ । वेगनास तालबाट धनुबाँस, सिम्ले, फपेटा, ताग्रेस्वारी, भगेरी पोखरीलगायतका स्थानमा स्थानीयवासी डुङ्गा तरेर आवतजावतसमेत गर्छन् ।
तालमा करिब ३५ किलो तौलसम्मका माछा पाइन्छन् । स्थानीयवासी पछिल्ला वर्षमा लोकल सर, वाम, ढुङ्गे वाम, नैनी, फगेटा, भोटीजस्ता रैथाने जातका माछाको कमी हुँदै गएको बताउँछन् । दुई दसक अघिसम्म तालमा ८५ किलो तौलसम्मका माछा पाइने गरेको स्थानीयवासीको भनाइ छ ।
मत्स्य अनुसन्धान केन्द्रका प्रमुख सुरेन्द्र शाहका अनुसार वेगनास तालमा मात्र वार्षिक ३६ मेट्रिक टन माछा उत्पादन हुन्छ । यस क्षेत्रमा हाल व्यवसायीले पोखरी निर्माण गरी माछापालन गर्दै आएका छन् । पछिल्ला वर्षमा तिलिपिया जातको माछाका कारण रैथाने जातका माछा कम हुँदै गएको डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष कँडेल बताउनुहुन्छ ।
पर्यटकको आकर्षणलाई दृष्टिगत गर्दै यस क्षेत्रमा भौतिक पूर्वाधारको विकासलाई प्राथमिकता दिनुपर्ने लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको भनाइ छ । प्राकृतिक दृश्यावलोकन, डुङ्गा सयर, स्थानीय माछाको विभिन्न परिकारको स्वादमा रमाउन स्थानीयवासीले माछा महोत्सवसमेत आयोजना गर्दै आएका छन् ।
स वर्ष वैशाख १७ देखि १९ गतेसम्म दोस्रो वेगनास माछा महोत्सव आयोजना गर्न लागिएको प्रचारप्रसार उपसमितिका संयोजक दुर्गाप्रसाद अधिकारीले जानकारी दिनुभयो । – वासुदेव पौडेल/रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु