नेवारी सङ्ग्रहालय बन्दै
काठमाडौँ, २७ वैशाख । भक्तपुरबाट ल्याइएको करिब ३६० वर्ष पुरानो कलात्मक सँझ्या (तीनवटा खापा भएको झ्याल) । घरका भित्तामा नै टाँसिएका विभिन्न देवी–देवताका कलात्मक मूर्तिहरु । भवनको पूर्वपट्टि ठूलो फलैँचा अनि भवनको तल्लो तलामा भ्वय् (भोज)का लागि तयार पारिएको सुन्दर हल । छिँडी, मटान र बुइँगलमा पनि नेवारी संस्कृतिको झलक !
पोखराको पुरानो भीमसेन टोलमा बन्दै गरेको नेवार समुदायको सामुदायिक भवनको दृश्य हो यो । पोखरामा छरिएर रहेका नेवारहरुको संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक र सामाजिक काम गर्न सहज बनाउने उद्देश्यले बनाइँदै गरेको हो यो भवन । “नेवाः छेँ” नामकरण गरिएको बन्दै गरेको भवन जति कलात्मक छ, उति नै सुन्दर पनि !
“यो भवन पोखरामा रहेका नेवारहरुको परिचय दिने सांस्कृतिक केन्द्र हो,” नेवाः छेँ कास्कीका अध्यक्ष अशोक पालिखेले भन्नुभयो – “आफ्नो संस्कृतिको जगेर्ना गर्ने अभियान पनि हो यो ।” नेवारहरुको उद्गमस्थल भक्तपुर नबिर्सन भवनको झ्यालसमेत त्यहीँबाट ल्याइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार करिब पौने तीन रोपनी क्षेत्रफलमा फैलिएको यो भवनको माथिल्लो तलामा नेवाः सांस्कृतिक सङ्ग्रहालय बनाइने छ । सो सङ्ग्रहालयमा नेवारको जन्मदेखि मृत्युसम्मका संस्कारबारे जानकारी दिने सामग्रीका साथै नेवारी संस्कृतिसँग जोडिएका अन्य सामग्री पनि राखिने छ ।
नेवारहरुको जन्मनासाथ गरिने न्वारान, किशोरीलाई गुफा राखेपछि बेलसँग हुने विवाह (इहि) र अन्य संस्कृतिबारे जानकारी राख्न चाहने तथा नेपाल घुम्न आउने पर्यटकका लागि पनि आकर्षण बन्ने उहाँको भनाइ छ । “यसले पोखरा आउने पर्यटकको बसाइँ कम्तीमा आधा दिन बढाउने छ” – उहाँले ठोकुवा गर्नुभयो ।
“नेवार जातमात्र नभएर एउटा संस्कृति पनि हो भन्ने जानकारी दिन यसलाई पोखराको पर्यटकीय गन्तव्यसमेत बनाउने हाम्रो योजना छ,” भवन निर्माणमा खटिएका संस्कृतिकर्मी तीर्थ श्रेष्ठले भन्नुभयो – “यो पोखरा आउने पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्नेछ ।”
आधुनिकताले नेवारी संस्कृति हराउँदै गएको सन्दर्भमा नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे जानकारी दिने केन्द्रका रुपमा समेत नेवारी घरलाई उपयोग गरिने उहाँले स्पष्ट पार्नुभयो ।
भवन निर्माणमा करिब रु छ करोड लाग्ने अनुमान गरिएको छ । भवन बनाउन सरकारी निकाय र नेवारी समुदायकै दाताहरुले सहयोग गरेका छन् । सहयोग आउने क्रमसमेत जारी रहेको निर्माण समितिले जनाएको छ ।
भवनका लागि थप एक करोड रुपैयाँभन्दा बढी लाग्ने निर्माणकार्यमा सहयोग पु¥याउँदै आउनुभएका उद्योगपति गणेशबहादुर श्रेष्ठको अनुमान छ । नेपालको प्रतिष्ठित लक्ष्मी ग्रुपका संस्थापकसमेत रहनुभएका श्रेष्ठका अनुसार भवनलाई नेवारीपन दिन भक्तपुरबाटै कालिगढ ल्याएर निर्माणकार्य गरिएको छ ।
करिब २५५ वर्ष पहिला २६ कुरिया (घर) नेवारहरु व्यापारका लागि पोखरा आएको इतिहास रहेको छ । उनीहरु खासगरी पोखराको रामकृष्ण टोल, गणेश टोल, भैरव टोल र विन्ध्यवासिनी मन्दिर वरपरको क्षेत्रमा बसेर विभिन्नखाले व्यापार÷व्यवसायमा संलग्न रहेका थिए । व्यापारका क्रममा पोखराका सबैजसो ठाउँमा छरिए पनि खास नेवारी परम्पराका लागि अहिले पनि ती पुराना टोल प्रख्यात रहँदै आएका छन् । नेवारी संस्कृतिका विभिन्न जात्रा र चाडपर्व ती टोलमा विशेष महत्वका साथ मनाइन्छ भने पुराना नेवारी संस्कृति झल्कने घर अहिले पनि त्यहाँ देख्न पाइन्छ ।
“नेवाः छेँ” घर मात्र नभएर छरिएर बसेका नेवारहरुलाई एउटै सूत्रमा जोड्ने माध्यमसमेत बन्ने आशा अध्यक्ष पालिखेको रहेको छ । उहाँ भन्नुहुन्छ –“नेवार आफैँमा जात मात्र होइन, संस्कृति र सभ्यता पनि हो । यो कुरा पछिल्लो पुस्तालाई बुझाउने एवम् यसैको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न यो भवनलाई हामी उपयोगमा ल्याउने छौँ ।” – वासुदेव मिश्र/रासस