रातो मच्छिन्द्रनाथको रथ सुन्धारातिर
काठमाडौ, २९ बैशाख । रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट तानेर गाबहालमा पुर्याइएको छ । अहिले गाबहालमा रातो मच्छिन्द्रनाथ र मिननाथको दर्शन गर्ने भक्तजनको घुईंचो लागेको छ । रथलाई तानेर एक दिन विश्राम गराउने ठाउँमा स्थानीयबासिन्दा भुज्या जाने भनेर परिवारका सबै सदस्यले पूजा गर्ने परम्परा छ । आज दिउँसो ४ बजेपछि रथलाई गाबहालबाट सुन्धारातिर तानिनेछ । जात्राको क्रममा गाबहाल, सुन्धारा, लगनखेल र जावलाखेलमा अनिवार्य रुपमा विश्राम गराउनु पर्ने परम्परा छ ।
जावलाखेलमा भोटो देखाउने जात्रासँगै रातो मच्छिन्द्रनाथको जात्रा सकिनेछ । रातो मच्छिन्द्रनाथको रथयात्रा उपत्यकाको सबैभन्दा लामो रथयात्रा भएकोले केहि वर्ष अघि यस जात्रालाई गिनीज बुकमा उल्लेख गराउनको लागि प्रयास भएको थियो । लिच्छवीकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएको र त्यसपछि सहकाल सुरु भएको किम्वदन्ती छ ।