ऐतिहासिक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी
काठमाडौँ, २९ वैशाख । यस वर्षको बुद्धजयन्तीका अवसरमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
यसअघि बुद्धजयन्तीका अवसरमा विभिन्न सम्मेलनको आयोजना गरेको भए पनि मुलुकको कार्यकारी प्रमुखको अध्यक्षतामा बौद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिनिधि र ख्यातिप्राप्त व्यक्ति नेपालमा बोलाएर ऐतिहासिक सम्मेलन गर्न लागेको यो पहिलो हो ।
सरकारले आगामी जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौँमा गर्न गत वर्षदेखि तयारी प्रारम्भ गरेको थियो । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बुद्धधर्म र बुद्ध दर्शनसम्बन्धी नेपाली प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताका १८ र विदेशी छ वटा गरी २४ कार्यपत्र प्रस्तुत हुनेछ ।
आगामी जेठ ८ गते २५६० औँ बुद्धजयन्ती लुम्बिनीमा मनाउने तयारी गरेको छ । सो अवसरमा बौद्ध सम्मेलनका लागि देश विदेशबाट आएका विशिष्ठ व्यक्ति र प्राज्ञको उपस्थितिमा लुम्बिनीमा बौद्ध परम्पराअुनसार विभिन्न धार्मिक अनुष्ठानसहित धुमधामका साथ बुद्धजयन्ती मनाउने तय भएको छ ।
सम्मेलनका लागि “लुम्बिनी, नेपालः भगवान् बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गम भूमि” भन्ने नारा तय गरिएको छ ।
मन्त्रिपरिषद्को गत माघ २० गतेको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन भएको थियो । सम्मेलन मूल आयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ ।
मन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति गठन भएको छ । सम्मेलन सफल पार्न विभिन्न विषयगत १३ वटा उपसमिति निर्माण गरिएको छ ।
सम्मेलन मूल आयोजक समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धप्रतिको न्याय, बुद्धसम्बन्धी भ्रम चिर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको उद्घोष गरिसक्नुभएको छ ।
बुद्ध नेपाल बाहिर जन्मिएको भन्ने भ्रमपूर्ण प्रकाशन अझै केही देशमा पाइने सन्दर्भमा यो सम्मेलनले बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश फैलाउनेछ । मन्त्री पोखरेलले परराष्ट्र मन्त्रालयमार्फत बुद्ध नेपालमा नभई अन्य देशमा जन्मिएको भन्ने पुस्तकबाट सच्याउन पहल भइरहेको बताउनुभयो ।
सो क्रममा दक्षिण कोरियाले आफ्नो सम्पूर्ण पुस्तकबाट गौतम बुद्ध भारतमा नभई नेपालमा जन्मिएको भनेर सच्याइसकेको जानकारी आएको छ भने अन्य देशले पनि आफूहरुले सो गम्भीर त्रुटि सच्याउने जनाएका छन् ।
मन्त्री पोखरेल सम्मेलनले सिद्धार्थ गौतम बुद्धको जन्म र कर्म थलो नेपाल नै भएको र बाँकी अन्य ठाउँमा गएर गरेका क्रियाकलाप वा लीला मात्रै हुन् भन्ने सम्मेलनले प्रमाणित गर्ने बताउनुहुन्छ ।
चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्रीलाई निमन्त्रणा
सम्मेलनका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन हाई, संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनलाई सरकारले निमन्त्रणा गरिसकेको छ ।
त्यस्तै, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमेसिङ्घे भारतको विहारका मुख्यमन्त्री नितीश कुमार, उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव, पश्चिम बङ्गालको मुख्यमन्त्री ममता बनर्जी, त्रिपुराको मुख्यमन्त्री मानिक सरकार, सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई निमन्त्रणा गरिएको छ ।
साथै १३ देशका संस्कृति, तथा धार्मिक मामिला मन्त्रीलाई निमन्त्रण गरिएको छ । श्रीलङ्का, म्यान्मार, थाइल्यान्ड, भारत, चीन, भियतनाम, कम्बोडिया, जापान, भुटान, दक्षिण कोरिया, लाओस, मङ्गोलिया र इजरायलका सम्बन्धित मन्त्रीलाई निमन्त्रणा गएको छ ।
त्यस्तै, बौद्ध धर्मसम्बन्धी २३ देशका सङ्घसंस्था नेपाल आउँदै छन् । संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलङ्का, म्यान्मार, थाइल्यान्ड, भारत, चीन, भियतनाम, कम्बोडिया, जापान, भुटान, दक्षिण कोरिया, लाओस, मङ्गोलिया, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, बङ्गलादेश, रुस, जर्मनी, फ्रान्स, अस्ट्रिया, क्यानडा रहेका छन् ।
सम्मेलनका लागि हालसम्म २१ देशका ९२ सरकारीस्तर र अन्य प्रतिनिधिको सहभागिता हुने तय भइसकेको सम्मेलन मूल आयोजक समारोह समितिका सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले जानकारी दिनुभयो । – कालिका खड्का/रासस