मिसन कोरला–२०१६ मुस्ताङमा
काठमाडौं, १० जेठ । हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रको प्रवद्र्धनको लक्ष्यका साथ आयोजित मिसन कोरला–२०१६ को समूह आइतबार मुस्ताङको जोमसोम पुगेको छ ।
पोखरादेखि कोरालासम्मको क्षेत्रको प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउने लक्ष्यका साथ पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद् (पिटिसी) को आयोजनामा पर्यटन व्यवसायीसहितको टोलीले आइतबारदेखि आफ्नो पाँचदिने भ्रमण कार्यक्रम मिसन कोरला–२०१६ सुरु गरेको पिटिसी अध्यक्ष सोमबहादुर थापाले बताउनुभयो ।
‘हिमाली क्षेत्रको प्रवद्र्धनमा यो कार्यक्रमले सघाउनेछ’, उहाँले भन्नुभयो –“पोखरा र यस आसपासका क्षेत्रको समग्र पर्यटकीय विकासमा यो अभियानले महत्वपूर्ण सहयोग पु¥याउनेछ ।”
उपल्लो मुस्ताङको भौगोलिक वनावट, हिमाली सभ्यता र संस्कृतिको अध्ययन तथा अवलोकनका लागि बर्सेनि विभिन्न देशका पर्यटक मुस्ताङ आउने गरेका छन् । उपल्लो मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ ।
अर्धनिषेधित क्षेत्र (सेमी रेस्ट्रिक्टेट एरिया) मा पर्ने यस भेगमा सन् १९९२ देखि मात्र विदेशी पर्यटक प्रवेशका लागि खुल्ला गरिएको थियो ।
यस्ता कार्यक्रमले आगामी दिनमा यस क्षेत्रमा थप पर्यटक आकर्षण गर्ने पर्यटन व्यवसायी एवम् पिटिसीका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई बताउनुहुन्छ ।
समूहमा पोखराका पर्यटन व्यवसायीसहित उद्यमी सहभागी रहेको जानकारी गराउँदै पिटिसीका महासचिव रामु गौतमले कार्यक्रमअन्तर्गत हिमाली क्षेत्रको स्थलगत अवलोकन, पर्यटन सम्बद्ध पक्षबीच अन्तक्र्रिया गर्दै जलवायु परिवर्तनले उक्त क्षेत्रमा पारेको असरबारे पनि जानकारी लिइने बताउनुभयो ।
पोखरासहित यस आसपासका पर्यटकीय सम्भावनालाई उजागर गर्न र यहाँको विकास एकसाथ अघि बढाउन यस किसिमका भ्रमणले विशेष महत्व राख्ने पर्यटन व्यवसायी एवम् परिषद्का उपाध्यक्ष चिरञ्जीवी पोखरेलको भनाइ छ ।
पोखरा आउने पर्यटक यहाँबाट उच्च हिमाली शृङ्खलाको अवलोकन गर्ने उद्देश्यका साथ ऐतिहासिकस्थल जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमाङ्थाङ हुँदै कोरलासम्म जान आकर्षित हुने गरेको उहाँले बताउनुभयो ।
नेपाल र तिब्बत जोड्ने कोरला नाकालाई व्यावसायिक प्रयोजनमा ल्याउनेसमेत सरकारी तयारी छ । त्यसका लागि अध्ययनसमेत भइरहेको छ ।
सरकारले २०७३ साललाई घुमफिर वर्षका रुपमा समेत प्रवद्र्धन गरेको बताउँदै पोखरेलले अहिलेको अभियानले घुमफिर वर्षको प्रवद्र्धन गर्दै आन्तरिक पर्यटकलाई यस क्षेत्रमा आकर्षित गर्ने धारणा राख्नुभयो । – वासुदेव पौडेल/रासस