जेठ १६ गते सगरमाथा दिवस मनाइने
काठमाडौँ, ११ जेठ । आउदो जेठ १६ गते नवौं अन्तराष्ट्रिय सगरमाथा दिवसका दिन नौ जना आरोहीलाई नगद रकमसहित सम्मानित गरिने भएको छ । सगरमाथा दिवस मूल आयोजक समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरेर दिवसका दिन नौ जना नेपाली आरोहीलाई नगद रकमसहित सम्मान गर्ने जानकारी दिएको हो । नौ जना आरोहीले आफ्नो ज्यान जोखिममा पारेर सगरमाथा आरोहणमा सजिलो होस् भनेर अप्ठ्यारा ठाउँमा डोरीको व्यवस्था गरेका कारण जनही ५० हजार रुपैयाँसहित सम्मानको निर्णय गरिएको सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो । ती नौ जना आरोहीलाई प्रदान गरिने नगद रकम नेपाल पर्वतारोहण संघले उपलब्ध गराउने छ ।
सगरमाथा आरोहणका क्रममा हिम पहिरोमा परेर १६ जना आरोहीको मृत्यु भएका कारण तथा गत वर्षको भूकम्पका कारण तीन वर्षदेखि सगरमाथाको आरोहण रोकिएकामा यसवर्ष ४ सय भन्दा बढीले सगरमाथाको सफल आरोहण गरेका छन् ।