पोखरा–मुस्ताङ नयाँ ट्रयाक खुल्दै
काठमाडौँ, २१ जेठ । पोखरा मुस्ताङ हुँदै कोरला नाका जोड्ने सडकको नयाँ ट्रयाक खुल्ने भएको छ । अन्नपुर्ण पदमार्गलाई बैकल्पिक रुपमा प्रयोग गर्न सकिने गरी स्थानियले ट्रयाक खोल्न लागेका हुन् । कास्कीको नयाँपुल हुँदै–पर्वतको भुकताङले स्थित झिलिबराङ– कास्कीको दाङसिङ–९ उल्लेरी देखि म्याग्दीको शिख गाविस जोड्ने सडक निर्माण गर्न थालिएको हो । पर्वतको भुकताङ्ले, कास्कीको दाङसिङ र म्याग्दीको शिख गाविसका स्थानियवासीहरुको पहल र स्थानियकै लगानीमा सडकको ट्रयाक खोल्न लागिएको हो ।
उक्त नयाँपुल–झिलिबराङ–दाङसिङ–शिख–घार–तातोपानी ट्रयाक खुलेपछि पोखरादेखि मुस्ताङ जाने सवारीसाधनका लागि झण्डै ३५ किलोमिटर सडक छोटिने भएको छ । उक्त ट्रयाक खुलाउनका लागि जम्मा ५ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेका बेला स्थानियले आफ्नै सक्रियतामा निर्माणकार्य शुरुवात गरेको स्थानिय समाजसेवी महानबहादुर गुरुङले जानकारी दिएका छन् । उक्त सडक निर्माणका लागि आवश्यक आर्थिक संकलन स्थानिय आफैले गरेका छन् । भुकताङ्ले स्थित मौरिभिरमा संकलन गरेको मह विक्रिबाट भएको आम्दानी पाँच लाख रुपैया र अन्य स्थानिय वासी र पर्यटन व्यावसायीहरुसँग चन्दा संकलन गरेर सडक जोड्ने काम भैरहेको गुरुङले जानकारी दिए ।
सडक सम्पन्न गर्नका लागि झण्डै ३० देखि ३५ लाख रुपैया लाग्ने अनुमान गरिएको छ । अहिले डोजर लगाएर ट्रयाक खोल्ने काम भैरहेको गुरुङले जानकारी दिएका छन् । उक्त ट्रयाक खुलाउन नसक्दा अहिले पोखरातर्फवाट हिमालपारीको जिल्ला मुस्ताङ पुग्नेहरु पर्वत सदरमुकाम कुश्माबजार, म्याग्दी सदरमुकाम बेनी हुँदै जानुपर्ने अवस्था रहेको छ ।
सडक खुलेपछि दैनिक हजारौको संख्यामा पदयात्रामा जाने पर्यटकहरु बिरामी परेमा वा अन्य कुनै दुर्घटनामा परेमा पनि उद्धारका लागि सहज हुने स्थानियवासीले बताएका छन् । समस्यामा परेका आन्तरिक तथा बाह्य पर्यटकलाई उद्धार गर्नपनि उक्त सडक मार्गको प्रयोग गर्न सकिने भएको छ ।