हनुमानढोका पुनःनिर्माण कुरामै सिमित
काठमाडौँ, २६ जेठ । गत वर्षको वैशाख १२ मा आएको भूकम्पबाट ध्वस्त भएको काठमाडौँको मुटुमा रहेको हनुमानढोका राजदरबारको एक वर्ष नाघिसक्दा पनि अझै पुनःनिर्माण कार्य सुरु भएको छैन । राजधानीको केन्द्रमा रहेको हनुमानढोका राजदरबारसहित ऐतिहासिक महत्वको गद्दी बैठक अझै चारैतिर टेको लगाइएको अवस्थामा रहेको छ । पृथ्वीनारायण शाहले निर्माण गरेको नौतले दरबारको तीन तला भूकम्पबाट ध्वस्त भएको छ भने बाँकी ६ तलामा मानिसभित्र जानसक्ने स्थिति छैन । मल्लकालदेखि नै नेपाल अधिराज्यको शासन सञ्चालन गर्ने मुख्य केन्द्रका रुपमा रहेको हनुमानढोका राजदरबारबाट नारायणहिटी राजदरबारमा शाहवंशका राजा सर्नु अघिसम्म नेपाल अधिराज्यको शासन सञ्चालन हुँदै आएकाले यो दरबार ऐतिहासिक रुपमा निक्कै महत्वपूर्ण मानिन्छ । हनुमानढोका हेरचाह अड्डाका अनुसार कुल १४ वटा चोक रहेको त्यस क्षेत्रमा हाल नासल चोक, जहाँ चोक तथा भण्डारखाल चोक मात्र पर्यटक तथा सर्वसाधारणका लागि खुल्ला राखेको छ । अरू ११ वटा चोकमा भूकम्पबाट क्षतिग्रस्त भएका कारण मानिस भित्र जानसक्ने अवस्था नभएकाले बन्द गरिएको छ ।