बुद्धको विशाल मूर्ति स्थापना
काठमाडौँ, २९ जेठ । भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटको शान्तिडाँडामा बुद्धको विशाल मूर्ति स्थापना गरिएकोे छ । यहाँको ८० रोपनी क्षेत्रफलमा स्थानीय बासिन्दाको पहलमा २०७० सालबाट सुरु भएको बुद्ध मूर्ति स्थापनालगायतका संरचना निर्माणकार्य सम्पन्न भएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाता, स्थानीय बासिन्दा, नगरकोट नगरपालिका, जिल्ला विकास समिति, सांसद विकास कोषलगायतको सहयोगबाट बुद्धको विशाल मूर्तिसँगै अन्य संरचना निर्माण भएको हो ।
करिब रु एक करोडको लागतमा वरिपरि ढुंगाको पर्खाल लगाएर बीचमा बुद्धको मूर्ति स्थापना गरी अन्य संरचनाहरु निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।
शान्तिडाँडामा जान सडकबाट खुट्किला निर्माण गर्नुका साथै वातावरण एवं भ्यू प्वाइन्टको दृष्टिकोषले आकर्षक बनाइएको, सुविधासम्पन्न पर्यटकीय शौचालय, दुईओटा ढुंगेधारा बनाइएको छ भने वनभोजस्थल र अन्य संरचनाहरु धमाधम निर्माण भइरहेका छन् ।
यहाँका सार्वजनिक जग्गाको व्यापक अतिक्रमण भएपछि यसको संरक्षण गर्ने र पर्यटकीय आकर्षकको क्षेत्र बनाउने उद्देश्यले स्थानीय बासिन्दा जुटेर संरचना निर्माण थालिएको अध्यक्ष लामाले बताए ।
यस क्षेत्रलाई बौद्धमार्गीहरुको ध्यान केन्द्रकारुपमा विकास गर्ने, सोधकेन्द्र बनाउने र नगरकोटको तल्लो क्षेत्रलाई पनि आकर्षक पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने लक्ष्यकासाथ मूर्ति स्थापना गरिएको उनको भनाइ थियो ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष एवं मूर्ति स्थापना उपभोक्ता समितिका सदस्य दीपक लामिछानेले नगरकोटको पर्यटकीय विकासलाई अझै विस्तृत् बनाउने योजनाअनुसार बुद्ध मूर्ति स्थापना गरेको बताए । उनले यसबाट आन्तरिक तथा बाह्य पर्यटकको आगमन बृद्धि गराउने दाबी गरे ।
सांसद कोषकोसमेत सहयोग रहेको यस क्षेत्रका बारेमा भक्तपुरका सांसद प्रेम सुवालले अत्यन्तै राम्रो कार्य भएको भन्दै सार्वजनिक जग्गा, जलवायु र वातावरण संरक्षणमा यसले टेवा पुर्याउने बताए ।
अर्का सांसद अनुराधा थापामगरले नेपालको संस्कृतिलाई जीवन्त राख्न, बुद्ध नेपालमै जन्मेको हो भन्ने विदेशी पर्यटकलाई जानकारी दिन र बौद्ध दर्शनसम्बन्धी अध्ययन केन्द्रकारुपमा यसलाई विकास गर्नुपर्ने औंल्याइन् ।
अर्का सांसद रामेश्वर ढुंगेलले यहाँ भूक्षय नियन्त्रण गर्न र विश्वकै नमुना इ˗लाइब्रेरीकारुपमासमेत यसलाई विकास गरेर लैजानुपर्नेमा जोड दिए ।
जिल्ला विकास समिति, भक्तपुरका स्थानीय विकास अधिकारी ध्रुव कोइरालाले जिल्लामै नमुना र आकर्षककारुपमा बौद्ध मूर्ति स्थापना भएको चर्चा गर्दै सबै नगरपालिकामा यस प्रकारको संरचना निर्माण गर्नसके सबै नगरपालिकालाई पर्यटकीय गन्तव्यको क्षेत्र बनाउन सकिने बताए ।