करिब ४० लाखमा बनेको पार्क प्रयोगविहीन
काठमाडौ, ३२ जेठ । सिन्धुली जिल्लास्थित बनेपा–सिन्धुली–बर्दिवास सडकसँगै जोडिएको भिमान पन्नेसीमा कमलामाई नगरपालिकाको लाखौं रकमको लागतमा बनाइएको सार्वजनिक पार्क प्रयोगविहीन बनेको छ । आर्थिक वर्ष २०६७/६८ मा स्थानीय बिकास मन्त्रालयले प्रदान गरेको ३१ लाख र स्थानीय बासिन्दाको श्रमदानबाट ९ लाख गरी ४० लाख रुपैयाँमा बनाइएको पार्क सदुपयोग हुन नसकी लथालिंग बनेको हो ।
कमलामाई नगरपालिकाले पार्क निर्र्माण पूरा गरेपनि व्यवस्थित रुपमा संचालन गराउन नसकेपछि प्रयोगविहीन भएको हो । करिब ५ कठ्ठामा फैैलिएको पार्कमा विभिन्न एक सयभन्दा बढी प्रजातिका फूल रोप्ने र रंंग रोगन गर्ने काम अझै हुन सकेको छैन । पार्कको बीचमा निर्माण गरिएको स्तुपा पनि अधुरो छ । कमलामाई नगरपालिकाले तल्लो नगर क्षेत्रका बासिन्दालाई मनोरञ्जन दिलाउन एवं आन्तरिक तथा वाह्य पर्यटकलाई कमलामाई नगरक्षेत्रमा आकर्षित गर्र्ने उद्देश्यले ६ वर्षअघि बनाएको सार्वजनिक पार्क रेखदेख र संरक्षणको अभावमा बेवारिसे बनेको हो ।