पाँच बाह्रसिंगा बर्दियामा स्थानान्तरण
काठमाडौ, २ असार । बर्दिया राष्ट्रिय निकुञ्जमा शुक्लाफाँटा वन्यजन्तु आरक्षका पाँच बाह्रसिंगा स्थानान्तरण गरिएको छ । बाह्रसिंगा स्थानान्तरण भएपछि बर्दिया निकुञ्ज यसको बासस्थान व्यवस्थापन गरेको छ । शुल्लाफाँटाबाट बाह्रसिंगा पहिलो पटक अन्यत्र स्थानान्तरण गरिएको हो । अहिले दुई भाले र तीन पोथी यहाँ ल्याइएको छ । यस वर्ष शुक्लाफाँटामा पन्ध्र बाह्रसिंगा बर्दिया निकुञ्ज ल्याइने मन्त्रिपरिषद्ले निर्णय गरेको निकुञ्जका संरक्षण प्रमुख रमेश थापाले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्जमा करिब एक सय बाह्रसिंगा छन् । पहिलो चरणमा १० पोथी र पाँच वयष्क भाले बाह्रसिंगा बर्दिया ल्याइने छ । निकुञ्जका अनुसार बर्दिया निकुञ्जमा तीन दशकयता बाह्रसिंगाको सङ्ख्या अपेक्षाकृत बढेको छैन । नश्ल सुधारका साथै यसको अनुवांशिक विविधता संरक्षण गर्ने उद्देश्यले शुक्लाफाँटाका बाह्रसिंगा बर्दिया सार्न लागिएको थापाले बताए । तीन महिनाअघि पाँच गैँडा बर्दिया निकुञ्जमा सफलतापूर्वक स्थानान्तरण भएकामा अघिल्लो साता एउटाले बच्चा जन्माएको छ ।