बुद्ध मूर्तिहरु चोर्नेहरु पक्राउ
काठमाडौं, ३ असार । पुरातात्विक महत्वका बहुमूल्य मूर्तिहरु चोरी गर्ने चारजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । अत्याधुनिक हतियारसहित डोल्पाको छार्का गाउँको गुम्बाको बुद्ध मूर्तिहरु लुट्ने चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङ लक्ष्मीपुराका किशोर घर्तीमगर, डोल्पाका दाजा बुढामगर, रोल्पाका जयबहादुर घर्तीमगर र अम्बर बहादुर रोकाया रहेका छन् । अभियुक्तहरुले गत जेठ ३० गते हतियारसहित सो गुम्बाबाट बुद्धको मूर्ति लुटेको प्रहरीले जनाएको छ । लुटेराहरुलाई छार्का गाविसकै याले भन्ने गाउँमा लुकेर बसेको अवस्थामा प्रहरीले जवाफी कारबाही गरेर पक्राउ गरेको जनाइएको छ । प्रहरीले उनीहरुलाई शुक्रबार सार्वजनिक गरेको हो । उनीहरुको साथबाट दुईथान पेस्तोल, ६ थान गोली र मोबाइलहरु बरामद गरेको पनि प्रहरीले बताएको छ । हाल माथिल्लो डोल्पाको पुरातात्विक महत्वका गुम्बाहरुमा चोरी र लुटपाटका घटनाहरु बढ्न थालेको प्रहरीले जनाएको छ ।